मित्र राष्ट्र इस्लामिक गणराज्य पाकिस्तानका प्रतिनिधिमण्डललाई भक्तपुर नगरपालिकामा स्वागत

मित्र राष्ट्र इस्लामिक गणराज्य पाकिस्तानका प्रतिनिधिमण्डललाई भक्तपुर नगरपालिकामा स्वागत
२०७९ कार्तिक १ गते, मंगलबार
भक्तपुर नगरपालिकाको सेवा प्रवाह एवम् असल अभ्यासहरुको अध्ययन गर्न भक्तपुर नगरपालिकाको अवलोकन भ्रमणमा आएका मित्रराष्ट्र इस्लामिक गणराज्य पाकिस्तानका स्वात स्थानीय सरकार प्रमुख एवं मेयर शाहीद अलीलगायतको प्रतिनिधिमण्डल टोलीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मंगलबार एक कार्यक्रमबीच पुष्पगुच्छा, खादा र भादगाउँले टोपीका साथ नगरपालिकामा स्वागत गर्नुभयो ।


स्वागत कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले जनप्रतिनिधिहरुको भ्रमणहरुको आदानप्रदानले दुई देशको मित्रतालाई अझ प्रगाढ बढाउने विश्वास राख्दै नेपाली जनता र पाकिस्तानी जनताले धेरै विषयहरुमा समान समस्याहरु भोग्दै आइरहेको बताउनुभयो ।
उहाँले सिन्धु प्रान्तमा आएको बाढीका कारण भएको क्षतिको घटना प्रति दुःख व्यक्त गर्नुहुँदै बाढी पीडित पाकिस्तानी जनताको सिघ्र पुनःस्थापनाको लागि पाकिस्तान सरकार र त्यहाँका स्थानीय सरकारहरुलाई सफलता मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रमुख प्रजापतिले नेपाल मजदुर किसान पार्टी वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्देश्यले स्थापना भएको कम्युनिष्ट पार्टी भएको बताउनुहुँदै पार्टीको नेतृत्व नेपालका वरिष्ठ कम्युनिष्ट नेता का. नारायणमान विजुक्छें(रोहित)ले गर्दै आउनुभएको, २०७४ र २०७९ साल बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा भक्तपुर नगरपालिकामा नेमकिपाका सबै उम्मेदवारहरुले जित हासिल गरेको अवगत गराउनुभयो ।
सोही क्रममा भक्तपुर नगरपालिकाको संक्षिप्त परिचय दिनुहुँदै प्रमुख प्रजापतिले विकास निर्माण र सम्पदा संरक्षणको काम नगरपालिकाले स्थानीय जनता परिचालन गरी गर्दै आएको र स्थानीय जनतालाई रोजगारीको सृजना, संरचनामा जनताको अपनत्व र गुणस्तरीय निर्माणको कारण भनपाले स्थानीय जनताको परिचालन गरी विकास निर्माणको काम सफलतापूर्वक सञ्चालन गर्न सम्भव भएको बताउनुभयो ।
उहाँले ‘उत्पादनका साधनहरु सामाजिकीकरण गर्ने, शिक्षा र स्वास्थ्य उपचारको जिम्मेवारी राज्यले लिनुपर्ने मान्यता अनुसार हामी जनप्रतिनिधिहरुले काम गर्दै आइरहेका छौं’ भन्नुभयो ।
त्यस्तै भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाको सेवाप्रवाह र सम्पदा पुनःनिर्माणको विषय समेटेर प्रस्तुतीकरण देखाउनुभएको थियो । अन्तरक्रियामा उठेका जिज्ञासामाथि प्रष्ट पार्नुहुँदै उहाँले संविधान र कानूनले स्थानीय तहलाई प्रदान गरेको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अधिकार प्रयोग गरी भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाईलगायत अन्य विकास निर्माणका कामहरु गरी जनताको सेवा गरिरहेको प्रष्ट पार्नुभयो । भक्तपुर नगरपालिकामा महिलाहरुको साक्षरता बढ्दै गइरहेको बताउनुहुँदै नगरपालिकाद्वारा सञ्चालित कलेज तथा संघ—संस्थाहरुमा महिलाहरुको सहभागिता र भूमिका उल्लेख्य रहेको बताउनुभयो ।
भेटमा पाकिस्तानका प्रमुख शाहीद अलीले भक्तपुर नपाले गरेको सौहार्दपूर्ण स्वागतको लागि धन्यवादज्ञापन गर्दै नगरपालिकाको सेवा प्रवाह र संगठन स्वरुप तथा कार्यशैलीबाट आफू निकै प्रभावित भएको बताउनुभयो । नेपाल–पाकिस्तानबीचको सम्बन्ध अगामी दिनहरुमा अझ सुमधुर रहने विश्वास प्रकट गर्दै उहाँले भक्तपुर भ्रमण निकै उत्साहप्रद र उपलब्धीपूर्ण भएको बताउनुभयो ।
प्रस्तुतीकरणपश्चात भएको अन्तरक्रिया कार्यक्रममा पाकिस्तानका प्रतिनिधिहरूले भक्तपुरको साक्षरताको अवस्था, भक्तपुर नपाबाट सञ्चालित कलेज तथा अन्य संघ संस्थाहरुमा महिला सहभागिता, नगरपालिकाको प्रशासनिक संगठन संरचना, भक्तपुर नपाको स्रोत तथा बजेट व्यवस्थापन र भक्तपुर नपा र देशका अन्य स्थानीय तहहरुबीचको अन्तरसम्बन्धबारे जिज्ञासाहरु राख्नुभएको थियो ।
कार्यक्रमपश्चात प्रमुख प्रजापतिले पाकिस्तानका प्रमुख अलिलाई भक्तपुरको प्रसिद्ध मयुरको झ्याल र नपाका केही प्रकाशनहरु उपहारस्वरुप प्रदान गर्नुभएको थियो भने उपप्रमुख जोशीले अन्य प्रतिनिधिमण्डललाई नपाको प्रकाशनहरु उपहारस्वरुप प्रदान गर्नुभएको थियो । कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।
भक्तपुर नपामा भएको स्वागत कार्यक्रमपश्चात पश्चात उपप्रमुख जोशीले प्रतिनिधिमण्डल टोलीलाई भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज, ख्वप मावि, ख्वप अस्पताल, ख्वप इन्जिनियरिङ तथा ख्वप कलेज अफ इन्जिनियरिङ कलेजको स्थलगत अवलोकन भ्रमण गराउनुभएको थियो ।
उक्त भ्रमण टोलीमा खैबर पख्तुनख्वा र पन्जाब प्रान्तमा सञ्चालित जी.आई.जेड. पाकिस्तानको स्थानीय सरकार सहयोग कार्यक्रमका कर्मचारी र स्थानीय सरकारका प्रतिनिधिहरू उपस्थित थिए । भ्रमणमा सहभागीहरुको नामावली यसप्रकार छन् ः

  1. Najeeb Aslam, Director PLGA Lalamusa
  2. Farooq Ahmed, Deputy Director, DG LG&CD Punjab
  3. Arslan Ali, Deputy Secretary (Reg.)
  4. Muhammad Zaman Wattoo, Deputy Secretary DG LG&CD Punjab
  5. Mehmood Masood Tamana, Director General (I&M) LG&CD Punjab
  6. Sara Mohsin, Assistant Director DG LG&CD Punjab
  7. Shazia Mumtaz, Assistant Director DG LG&CD Punjab
  8. Sidra Hameed, Lady Councilor (Minority) Punjab
  9. Salma Fahad Wazir, Assistant Director LGE&CDD KP
  10. Mian Qaisar Khan, Tehsil Municipal Officer Matta Swat KP
  11. Shahid Ali, Mayor City Local Government Swat
  12. Syeda Qurat-ul-Ain Zaidi, Assistant Tehsil Officer Reg. LGE&CDD KP
  13. Robina Shaheen, Elected Women Councilor Hairpur
  14. Muhammad Usman . Director General LGE&CDD KP
  15. Gouhar Ayub, Team Leader GIZ Logo-II ISB
  16. Adeel Bahadur, Technical Advisor GIZ Logo-II Peshawar.
  17. Sanam Irshad, Technical Advisor GIZ Logo-II
  18. Pramod Aryal, LG expert Rural and Urban Consult pvt. ltd.
  19. Sadikxya Acharya
  20. Yadak Ojha, Project Manager, GIZ