समाजको हितका लागि उत्प्रेरणाको श्रोत बन्नुपर्नेमा नगर प्रमुख प्रजापतिको जोड

समाजको हितका लागि उत्प्रेरणाको श्रोत बन्नुपर्नेमा नगर प्रमुख प्रजापतिको जोड
भक्तपुर, श्रावण १४ गते
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नवदुुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थाको पहिलो अधिवेशनको शनिबार उद्घाटन गर्नु भयो । ऐतिहासिक नवदुर्गा नाच व्यवस्थापनका लागि स्थापना भएको सो संस्थाको पहिलो अधिवेशन नगर प्रमुख प्रजापतिले पानसमा दिप प्रज्वलन गर्दै उद्घाटन गर्नु भएको हो । सो अवसरमा नगर प्रमुख प्रजापतिले नवदुर्गा नाचको प्राचीन इतिहास लिपिबद्ध गरी अभिलेखीकरण गर्दै नयाँ पुस्तालाई त्यसको ऐतिहासिक र साँस्कृतिक महत्व बारे जानकारी निरन्तर रुपमा दिनुपर्नेमा जोड दिनु भयो । विदेशीको भर नपरी आफ्नै खुट्टामा उभिन सक्ने गरी सबैको लागि उदाहरणीय कार्य गर्न सक्नुपर्ने भन्दै नगर प्रमुख प्रजापतिले शारिरिक र नैतिकरुपले कमजोर नहुने गरी समाजको हितका लागि प्रेरणाको श्रोत भएर अनुशासित रुपमा काम गर्नुपर्नेमा जोड दिनु भयो । भक्तपुर नगरपालिकाले रु१००को पनि हिसाव राखेर पारदर्शिरुपमा काम गर्दैआएको बताउँदै भक्तपुर नगरपालिकाका जनप्रतिनिधीहरु नगरवासीहरुको सेवाका लागि २४ संै घण्टा खत्न तयारी अवस्थामा रहेको बताउनु भयो ।

नगरवासीहरुको समस्यामा फोन आउने बित्तिकै १० सै मिनेटमा जनताको वीचमा पुग्ने गरी जनप्रतिनिधीहरु तयारी अवस्था रहेको उल्लेख गर्दै भक्तपुरको ऐतिहासिक नवदुर्गा नाचलाई जगेर्णा गर्न सबै सरोकारवालाहरु एक जुत हुन आग्रह गर्नु भयो । लाखौं नेपालीको आस्थाको केन्द्रका रुपमा रहेको नवदुर्गा नाचका सञ्चालकहरु बीच झै झगडा हुने, बढी पिएर स्वास्थ्य खराव बनाउने भन्दा ऐतिहासिक नाचलाई संरक्षण र जगेर्णा गर्नतर्फ ध्यान दिनुपर्नेमा उहाँले जोड दिनु भयो । भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणमा देशकै उत्कृष्ट र नमूना काम गर्दै आएकाले यहाँको विद्यालय, कलेज, अस्पतालहरुको अवलोकनका लागि देशका विभिन्न नगरपालिकाका जनप्रतिनिधीहरु भक्तपुर आउने क्रम जारी रहेको बताउनु भयो । विदेशीको सहयोग नलिई आफ्नै धरातलमा उभिएर भक्तपुर नगरपालिकाले गरेको कार्य सम्पादन अन्य पालिकाका लागि नमूना योग्य भइरहेको बेला अनावश्यक भ्रम नफैलाउन पनि आग्रह गर्नु भयो ।
संस्थाका अध्यक्ष व्रिजेश बनमालाको सभापतित्वमा आयोजित सो कार्यक्रममा मालि समाजका सभापति अमर नारायण मालि, वडाध्यक्ष रविन्द्र ज्याख्व, पूर्व वडाध्यक्ष विष्णुबहादुर मानन्धर, कृष्णभक्त लवजु, देवगण जेष्ठ नागरिक इन्द्रबहादुर बनमाला, सल्लाहकार नारायणमान बनमाला, बनमाला समाज सेवा समितिका अध्यक्ष आशकाजी बनमाला, देवगण गुरु नारायणभक्त बनमाला, दयाराम बनमाला, शिवभक्त बनमाला, हरिगोविन्द बनमाला लगाएतले भक्तपुरको ऐतिहासिक नवदुर्गा नाचको महत्वलाई झल्काउँदै यसको संरक्षण र सर्बधनकालागि हुँदै आएको महत्वपूर्ण कार्यहरु तथा भविष्यका योजनाहरु बारे चर्चा गरेका थिए भने संस्थाका उपाध्यक्ष गोबिन्द बनमालाले स्वागत मन्तव्य, सचिव रत्नमान बनमालाले प्रगति विवरण र कोषाध्यक्ष रिजय बनमालाले आयब्यय प्रस्तुत गर्दै उद्घाटन समारोह सम्पन्न गरेको थियो ।