आर्युवेद स्वास्थ्यसम्बन्धी महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई अभिमुखीकरण

आर्युवेद स्वास्थ्यसम्बन्धी महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई अभिमुखीकरण
२०७८ पुस १५ गते, बिहीबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र भक्तपुरको आयोजनामा भएको भक्तपुर नगरपालिकाका महिला स्वास्थ्य स्वयम्सेविकाहरुको लागि आर्युवेद स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम बिहीबार सम्पन्न भयो ।
कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले आर्युवेद चिकित्सा पद्धति लिच्छविकालदेखि सुरु भएको नेपालको मौलिक चिकित्सा पद्धति भएको बताउनुहुँदै भक्तपुर नगरपालिकाले वडास्तरीय नागरिक आरोग्य केन्द्र सञ्चालन गरी निःशुल्क रुपमा नागरिकहरुलाई आर्युवेदिक औषधिहरु वितरण समेत गर्दै आइरहेको बताउनुभयो ।

This image has an empty alt attribute; its file name is IMG_7923-scaled.jpg
आर्युवेद स्वास्थ्यलाई राज्यले आफ्नो प्राथमिकतामा नराखेको गुनासो व्यक्त गर्नुहुँदै राज्यबाट सिंहदरबारको वैद्यखाना र नरदेवी अस्पताल संरक्षणको अभावमा बन्द हुने स्थितिमा रहेको प्रष्ट पार्नुहुँदै भएका वैद्यखानाहरुको संरक्षण गरी टोलटोलमै आर्युवेद केन्द्रहरु स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।
रामदेव भारतका व्यापारिक व्यक्ति भएको बताउनुहुँदै नगर प्रमुख प्रजापतिले नेपालका जडिबुटीमा विदेशको नियन्त्रण कायम गर्न यस्ता व्यक्तिहरुले अनेक चलखेल गरिरहेकोतर्फ सचेत हुनुपर्ने धारणा राख्नुभयो ।
उहाँले देशभक्त र सचेत नागरिकले देशको अस्तित्व र सार्वभौमिकतासँग जोडिएको एमसीसी सम्झौताको विषयमा जानकारी राख्नुपर्ने र देशघाती सम्झौताको विरुद्धमा आ–आफ्नो क्षेत्रमा आवश्यक भूमिका खेल्नुपर्ने जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालका डा. रत्नसुन्दर लासिवाले आर्युवेद स्वास्थ्य उपचारबारे समुदायस्तरबाटै जनचेतना जगाउन आवश्यक भएको बताउनुहुँदै स्वास्थ्यस्वयम्सेविकाहरुले यसको महत्वबारे जनतालाई जानकार गराउनुपर्ने आजको आवश्यकता हो भन्नुभयो ।
कार्यक्रममा जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र भक्तपुरका कार्यालय प्रमुख नरेन्द्रप्रसाद गिरीले सरकारले आर्युवेदिक चिकित्सा पद्धतिलाई वैकल्पिक उपचार विधिको रुपमा अगाडि बढाउनुपर्ने बताउनुहुँदै भक्तपुर नपाले मौलिक आर्युवेद चिकित्सालाई प्राथमिकतामा राखी आरोग्य केन्द्र सञ्चालनबाट आफूहरुलाई हौसला प्रदान भएको बताउनुभयो ।
जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र भक्तपुरका व्यवस्थापन समितिका अध्यक्ष राजुप्रसाद अधिकारीले कार्यक्रमको उद्देश्यमाथि प्रष्ट पार्नुहुँदै नेपालको मौलिक स्वास्थ्य विधिलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।