भक्तपुर कप फुटबलको टाइसिट सार्वजनिक
भक्तपुर । भक्तपुर कप फुटबलको टाइसिट सार्वजनिक गरिएको छ । फागुन ६ गते शुक्रबारदेखि हुने भक्तपुर कप फुटबल प्रतियोगिताको लागि मंगलबार एक कार्यक्रम गरी टाइसिट सार्वजनिक गरिएको हो । प्रतियोगितामा सहभागी टिमका प्रतिनिधिहरुलाई गोलाप्रथा लिन लगाई टाइसिट बनाइएको थियो । सार्वजनिक टाइसिट अनुसार उदघाटन खेल आयोजक युवा टिम भक्तपुर र नमस्ते बनेपा फुटबल क्लब बनेपाबीच हुने भएको छ ।
कार्यक्रममा आयोजक युवा टिमका अध्यक्ष केशव त्वानाबासुुले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताए । टिमका संस्थापक एवं सल्लाहकार विश्वराम कवाँले प्रतियोगितामा हारजित निश्चित भएको भन्दै हारजित भन्दा मित्रताका लागि खेल खेल्नुपर्ने बताए । टिमका अर्का सल्लाहकार श्रीकृष्ण किसी, भक्तपुर फुटबल क्लवका उपाध्यक्ष सुनिल प्रजापति, आयोजक युवा टिमका सचिव रामेश्वर मचामसी, प्रतियोगिता संयोजक सञ्जीव कवांलगायतले प्रतियोगिता सभ्यभव्य हुने बताए ।
प्रतियोगितामा पहिलो र दोश्रो हुने टिमलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ । पहिलो हुने टिमलाई नगद रु एक लाख १५ हजार र दोश्रो हुने टिमलाई नगद रु ५५ हजार पुरस्कारको व्यवस्था रहेको छ । साथै प्रतियोगितामा उत्कृष्ट खेलाडी, अग्रखेलाडी, मिडफिल्डर, डिफेन्डर, गोलकिपर, कोचलाई पनि वेष्ट अवार्ड दिने योजना रहेको छ ।
प्रतियोगितामा काठमाडौं उपत्यका र उपत्यकाबाहिरबाट पनि प्रतिनिधित्व रहेको जनाइएको छ । प्रतियोगितामा काठमाडौं, ललितपुर, भक्तपुरसहित काभ्रेपलान्चोक गरी कुल १६ वटा टिमहरुले सहभागिता रहेको जनाइयो ।
प्रतियोगिताको खेल मैदान व्यवस्थापक अनिल सुकुपायोले प्रतियोगिताको लागि डोजर लगाएर खेलमैदान मिलाउनुका साथै पोलमा रंगरोगन, गेट मर्मत गरी सम्पूर्ण तयारी अवस्थामा रहेको जनाए । प्रतियोगिता भक्तपुर नगरपालिका वडा नं ७ स्थित स्थानीय महेश्वरी खेल मैदानमा हुनेछ ।
प्रतियोगिताको उदघाट फागुन ६ गते शुक्रबार एक बजे हुनेछ । प्रतियोगिताको उदघाटन खेल दिउँंसा दुई बजे हुनेछ । प्रतियोगिताको उदघाटन प्रदेश सांसद सुरेन्द्रराज गोसाईबाट गराउने कार्यक्रम तय गरिएको छ ।













