गाईजात्रा प्रदक्षिणा मार्गमा तारहरु व्यवस्थित गरिने

गाईजात्रा प्रदक्षिणा मार्गमा तारहरु व्यवस्थित गरिने
२०७९ साउन १२ गते, बिहीबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा २०७९ सालको गाईजात्रा (सापारु) पर्वलाई व्यवस्थित र मर्यादित रुपमा सम्पन्न गर्न गाईजात्रा प्रदक्षिणा मार्गमा रहेका विद्युत, टेलिफोन, इन्टरनेट र केबुल नेटवर्कका तारहरु व्यवस्थित गर्ने विषयमा बिहीबार सरोकारवालाहरुको बैठक बस्यो ।
बैठकले प्रसिद्ध गाईजात्रा (सापारु) पर्वलाई व्यवस्थित र मर्र्यादित रुपमा सञ्चालन गर्न सरोकारवाला सबै पक्षबाट आ–आफ्नो भूमिका निर्वाह गर्ने, गाईजात्रा प्रदक्षिणा मार्ग र महŒवपूर्ण चोक तथा सडकहरूमा अस्तव्यस्त रुपमा राखिएका बिजुली, टेलिफोन तथा इन्टरनेट र केबुल नेटवर्कका तारहरू यही २०७९ साउन २० गतेभित्र सम्बन्धित पक्षले आ–आफ्ना तारहरू व्यवस्थापन गर्ने निर्णय गर्यो ।
भक्तपुर नगरमा अस्तव्यस्त राखिएका तारहरूको व्यवस्थापनमा आवश्यक समन्वय तथा अनुगमन कार्य गर्न भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वको संयोजकत्वमा सात सदस्यीय समिति गठन गर्ने निर्णय गर्यो ।


उक्त बैठकले गाईजात्रा प्रदक्षिणा मार्गमा अस्तव्यस्त राखिएका तारहरू साउन २० गतेपछि नगरपालिकाले नै हटाउने र त्यस क्रममा हुने खर्च तथा जरिवाना सम्बन्धित पक्षबाट असुल उपर गर्ने निर्णय गरियो ।
बैठकले गाईजात्रा अवधिभर लोडसेडिङ नगर्न नेपाल विद्युत प्राधिकरणसँग अनुुरोध गर्ने र गाईजात्रा पर्वमा प्रदर्शन गरिने घिन्ताङघिसी नाच तथा सांस्कृतिक प्रदर्शनीहरू देश—विदेशका सबै नागरिकले सहज ढंगबाट अवलोकन गर्न पाउने सुविधाको लागि टेलिभिजन, सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारणको व्यवस्था गर्न सबैलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।