नगर प्रमुख प्रजापति र लेटाङ नपाका प्रमुख भूपेन्द्रकुमार लावतीबीच भेटघाट

नगर प्रमुख प्रजापति र लेटाङ नपाका प्रमुख भूपेन्द्रकुमार लावतीबीच भेटघाट
२०७९ साउन १० गते, मंगलबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग मोरङ जिल्लाको लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावतीले मंगलबार भेटघाट गर्नुभएको छ । नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाको अवलोकन भ्रमणमा आउनुभएको उक्त टोलीलाई भादगाउँले टोपी र नपाको लोगो अंकित परम्परागत खादाले स्वागत गर्नुभयो ।
भेटमा प्रमुख प्रजापतिले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य र सम्पदा पुनःनिर्माणमा गरिरहेको गतिविधिहरुबारे जानकारी गराउनुभयो ।
भक्तपुर नपाले समाजवादी देशहरुबाट सिक्दै काम गरिरहेको बताउनुहुँदै उहाँले स्वास्थ्य क्षेत्रमा अरु नपाले भन्दा पृथक ढंगले नगरबासीहरुको सेवा गर्ने कोसिस गरिरहेको चर्चा गर्नुभयो ।


भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप सर्कलका शैक्षिक संस्थाहरु देशकै उत्कृष्ट कलेजको रुपमा स्थापित हुनु सबैको लागि गौरवको विषय भएको बताउनुहुँदै उहाँले विकास निर्माणमा भक्तपुर नपाले उपभोक्ता मोडललाई नै प्राथमिकतामा राख्दै आएको बताउनुभयो ।
भूगोल, इतिहास, संस्कृति, राजनीतिशास्त्र र नेपालभाषालगायतका विषयमा विद्यार्थीहरुको आकर्षण घट्दै गइरहेको सन्दर्भमा भक्तपुर नपाले यी विषयहरुमा उच्च शिक्षा हासिल गर्न पी. एच. डी. सम्मका विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्तिको व्यवस्था गर्दै आइरहेको र भक्तपुर नपाबाट सञ्चालित कलेजहरुले वार्षिक ६ करोडभन्दा बढी छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ भन्नुभयो ।
भेटमा नगर प्रमुख लावतीले लेटाङ नपाले आफ्ना नगरबासीहरुलाई मातृभाषामै सेवा प्रदान गरिरहेको बताउनुहुँदै लेटाङ पर्यटनको सम्भावना बोकेको ठाउँ भएको हुँदा भक्तपुर नपासँग सहकार्य गर्दै अगाडि बढ्न चाहेको बताउनुभयो । भौगोलिक विषमता यस नपाको मुख्य विशेषता रहेको बताउनुहुँदै उहाँले ९ वटा वडामा विभाजित यस नगरपालिका पर्यटकीय सम्भावना धेरै भएको नगरपालिका भएको बताउनुभयो ।
उहाँले नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा गरिरहेको काम अन्य स्थानीय तहको लागि उदाहरणीय भएको बताउनुहुँदै भक्तपुर नपाबाट लेटाङले पनि सिक्न चाहेको बताउनुभयो ।
भेटमा उपस्थित संघीय सांसद घनश्याम खतिवडाले भक्तपुर र लेटाङबीच भावनात्मक सम्बन्ध रहेको बताउनुहुँदै भक्तपुरसँग भगिनी सम्बन्ध कायम गर्न उत्सुक भएको बताउनुभयो । उहाँले संसदमा विचाराधीन ख्वप विश्वविद्यालय विधेयक पारित गर्न छिटोभन्दा छिटो पहल गर्नुपर्नेमा जोड दिनुहुँदै नगरपालिकाले ख्वप विश्वविद्यालय सञ्चालन गरे देशकै लागि नमुना कार्य हुने बताउनुभयो ।
भेटमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकला, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, प्रशासकीय अधिकृत दामोदर सुवाल, बित्त आयोगका सदस्य विपिन निरौला, लेटाङ २ वडाका वडाध्यक्ष तेजप्रसाद तिमिल्सिना र लेटाङका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेलगायतको उपस्थिति थियो ।
लेटाङ नपाका जनप्रतिनिधिहरुले भक्तपुर नपाबाट सञ्चालित कलेज र अस्पतालहरुको स्थलगत अवलोकन गर्नुभएको थियो नगर प्रमुख प्रजापतिले प्रमुख लावतीलाई मयुरको झ्याल र नपाका प्रकाशनहरु मायाको चिनोस्वरुप प्रदान गर्नुभएको थियो ।