चाँगु नगरमा नसर्ने रोगको अभिमुखीकरण, जनप्रतिनिधीहरु चिन्तित

चाँगु नगरमा नसर्ने रोगको अभिमुखीकरण, जनप्रतिनिधीहरु चिन्तित
भक्तपुर, फाल्गुण ११ गते
गाडीको सर्भिसिङ गरे जस्तै मानिसको स्वास्थ्य चेकजाँच नियमित रुपमा गर्न सके नसर्ने रोगबाट बच्न सकिने धारणा राख्दै जनस्वास्थ्य कार्यालय भक्तपुरले चाँगुनारायण नगरपालिकामा नसर्ने रोग सम्बन्धि आज अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा सहभागीहरुले मानिसको जीवन शैली र खानपिनमा आएको परिवर्तन, बढ्दो विषादीको प्रयोगसंगै नसर्ने रोग बढेको प्रति चिन्ता व्यक्त गरेका हुन । यस बारे समुदायस्तरमै सचेतना दिन स्थानीय जनप्रतिनिधी र सरोकारवाला निकायहरु चनाखो हुनुपर्नेमा जोड दिदै जनस्वास्थ्य अधिकृत शान्तिराम खतिवडाले नसर्ने रोग हाम्रो मात्र समस्या नभई विश्वव्यापीरुपमा बढि रहेको जोखिमयुक्त रोग भएको भन्दै नसर्ने रोग गत वर्ष भन्दा यो वर्ष, यो वर्ष भन्दा अर्को बर्ष झन झन बढी रहेकोमा चिन्ता व्यक्त गरेका हुन् ।


विकसित देशहरुले ६० प्रतिशत नसर्ने रोग न्यूनिकरण गरेको भएपनि विकासउन्मुख देशमा भयाभह रुपमा नसर्ने रोग बढेको उहाँले बताए । स्थानीय सरकारले नसर्ने रोगमा काम गर्नुपर्नेमा जोड दिदै नागरिकको पैसा सर्ने भन्दा नसर्ने रोगमा बढी खर्च बढी रहेको औल्याउनु भयो ।
उहाँले नसर्ने रोगमा एकडेर लाख मात्रै निःशुल्क उपचार हुने तर रोगीले जीवनभर खर्च गर्नुपर्ने अवस्थाले गर्दा हरेक घरमा नर्स वा पारामेडिसियन हुनुपर्ने जतिल अवस्था आएकोेप्रति सचेत गर्नु भयो । नसर्ने रोगको उपचार गरेर मात्र समाधान नहुने भन्दै उहाँले नसर्ने रोग लाग्नै नदिन रोकथाम र प्रतिकार्यमा पनि लाग्नुपर्नेमा जोड दिनु भयो ।
उहाँले विश्वमा ६६ प्रतिशत मानिसको मृत्युको कारण नसर्ने रोग भएको उल्लेख गर्दै नसर्ने रोग बारे जनचेतना अभिवृद्धि गर्न नगरकोट पर्यटन वर्ष २०८२ लाई पनि सदुपयोग गर्नुपर्नेमा जोड दिनु भयो ।
समुदायमा हुने नियमित स्वास्थ्य शिविरहरुले जनताको बीचमा रहेको मोतियाविन्दु देखि विभिन्न रोगहरुको पहिचान गर्न सफल भएको भन्दै चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले सो अवसरमा नगरवासीहरुको स्वास्थ्य जाँच र उपचारमा आवश्यक बजेट विनियोजन गर्न सकिने धारणा राखेका छन् । आर्थिक अवस्था कमजोर भएका जेष्ठ नागरिकहरुलाई घर दैलोमै उपचारको व्यवस्था गरेको उल्लेख गर्दै सबै कुरा निःशुल्क गर्न चाहेर पनि श्रोत अभावका कारण संभव नहुने उल्लेख गर्दै उपप्रमुख बुढाथोकीले उपचार गर्ने हैसियत भएका मानिसहरुले नै सबै भन्दा पहिला निःशुल्क उपचारको सुविधा लिने गरेको प्रति आपति जनाउनु भयो ।

चाँगुनारायण अस्पतालका प्रमुख डाक्टर अर्जुन कार्कीले नसर्ने रोग १९९० सालमा ३१ प्रतिशतमा सिमित रहेको सन् १९१९ सालसम्ममा ७१ प्र्रतिशतमा पुगेको चर्चा गर्दै सुगर र प्रेसर, कोलस्टोर, मोटोपन र घुम्रपान ५ कारणहरुले बढी नसर्ने रोग लाग्ने गरेको बताउँदै उहाँले यसले हृदयघाट, पक्षघात जस्तो रोग बढेको उल्लेख गरेका हुन ।
४० वर्ष पुगेपछि सुगर, प्रेसर, पिसाव जाँच नियमित भइरहे होल्ड बडी चेक जाँच गरिरहन नपर्ने डा.कार्कीले सुझाउनु भयो । स्वास्थ्य क्षेत्रमा होल बडी चेक, भिट्टामिन डि जस्तो उपचारको नाममा पैसा लुत्ने कार्य भइरहेको प्रति आपति जनाउनु भयो ।
जनस्वास्थ्य कार्यालय भक्तपुरका खोप अधिकृत दिपक अछामिले नसर्ने रोगको अवस्था, चुनौति र रोकथाम सम्बन्धि प्रस्तुतीकरणसँगै उठेका प्रश्नहरुमा चाँगुनारायण नगर स्वास्थ्य कार्यालयका प्रमुख दिलकुमार दुवालले सहजिकरण गर्नु भएको थियो ।
सो अवसरमा चाँगु नगरपालिका वडा न९का वडाध्यक्ष गणेश त्यात, २का सोम प्रधान, ५का जयन्त खड्का, ६का धनबहादुर लामा, ७का श्यामकृष्ण नायजु श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमेगाई सहितका जनप्रतिनिधीहरुले पनि नसर्ने रोग भयाभहरुपमा फैलि रहेको प्रति चिन्ता व्यक्त गरेका थिए । कार्यक्रममा नगरकोट भ्रमण वर्ष २०८२का सदस्य सचिव डाक्टर धनश्याम खतिवडाले बढ्दो नसर्ने रोग बारे सचेत रहदै नगरकोट भ्रमण वर्ष २०८२लाई आर्थिक रुपले पनि सबल बनाउन सबैको साथ र सहयोग हुनुपर्नेमा जोड दिएका थिए ।यसै बीच नसर्ने रोग बारे चाँगु नगरका स्वास्थ्यकर्मी तथा स्वयम्सेविकाहरुलाई पनि आज अभिमुखीकरण तथा तालिम दिएको थियो ।