शपथसँगै कार्यभार ग्रहण
भक्तपुर, ६ जेठ । स्थानीय तहको निर्वाचन २०७९ मा भक्तपुर नगरपालिका वडा नं ९ बाट अत्याधिक मतले निर्वाचित वडाध्यक्ष र वडासदस्यहरुको स्वागत तथा पदभार ग्रहण कार्यक्रम वडा कार्यालयको भवनमा एक समारोह बीच सम्पन्न भयो ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् नवनिर्वाचित वडाध्यक्ष रविन्द्र ज्याख्वले सबभन्दा बढी मतदाता भएको वडा र अत्यधिक मतदान भएको अत्यधिक नेमकिपालाई मत आएको वडाको रुपमा विश्लेषण गर्नुभयो । उहाँले निर्वाचनमा मतदाताहरुको समिक्षा गर्दा सबै वडाबासीहरुले विगतमा गरेको कार्य र नेमकिपाको घोषणापत्रलाई मतदान गरेको बताउँदै खसेको मतमा लगभग ८० प्रतिशत मत प्राप्त भएको बताउनुभयो । उहाँले निर्वाचनताका घरदैलो गर्दा वडाकार्यालयको प्रशासनिक गुनासो बढी आएको बताउँदै कर्मचारीहरु शिष्ट र अनुसाशित भई जनताको काम छिटो छरिटो गर्न निर्देशन दियो । उहाँले आर्थिक बर्षको अन्तअन्त पुगेको हुनाले वडाको विकास निर्माणमा प्रथामिकता दिनु पर्ने योजनाहरु छनौटको लागि अनुरोध गर्नुभयो । उहाँले मतदान गर्नुहुने सम्पुर्ण मतदाताहरु, निर्वाचनमा सहयोग गर्नुहुने निर्वाचन परिचालन समितिका साथीहरु, प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा नेमकिपा भनपा ९ का अध्यक्ष कृष्णभक्त लवजुले धन्यवाद ज्ञापन गर्दै जनताले जति बढी मत दियो त्यतिनै जनता प्रति उत्तरदायित्व र जिम्मेवारी बढेको बताउँदै जनताको चाहना, घोषणापत्र, पार्टीको सरसल्लाहमा अगाडि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नवनिर्वाचित महिला सदस्य छोरीमैया सुजखु, नवनिर्वाचित वडा सदस्यहरु इन्द्र बहादुर प्याथ, ज्ञान बहादुर मानन्धर, रामकृष्ण प्रजापति, वडा सचिव पुण्यराम लाखाले पनि बोल्नुभएको कार्यक्रममा कार्यवहाक वडाध्यक्षको जिम्मेवारी लिएर बसेका जगतलाल मानन्धरलाई दोसल्ला ओढाई नवनिर्वाचित वडाध्यक्ष रबिन्द्र ज्याख्वले विदाई गर्नुभयो ।













