चैत्र २६ गते देखि भक्तपुर औद्योगिक महोत्सव हुने
भक्तपुर, चैत्र १८ गते
दशौ भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८२ यही चैत्र २६ गते देखि बैशाख ६ गतेसम्म आयोजना गर्ने भएको छ । महोत्सव आयोजक समितिले आज भक्तपुरमा पत्रकार सम्मेलन आयोजना गरी महोत्सबको तयारी बारे जानकारी दिएका हुन । महोत्सव संयोजक दिपक थापाका अनुसार नयाँ वर्ष २०८३ साल तथा विस्का जात्राको अवसरमा ११ दिने दशौ भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव भक्तपुरको सल्लाधारी स्थित खुल्ला चौरमा आयोजना गर्ने जनाएका हुन ।
भक्तपुरलाई उद्योग संस्कृति र कृषि क्षेत्रको संगमका रुपमा स्थापित गर्ने उदेश्यका साथ औद्योगिक शान्ति नेपालले विगत १२ वर्ष देखि निरन्तर रुपमा यो समहोत्सव आयोजना गर्दै आएको छ । १५० भन्दा बढी स्टलहरु रहने सो महोत्सवमा यसपालि स्थानीय उत्पादनलाई प्रवर्धन गर्न बढी भन्दा बढी स्थल उपलब्ध गराउने आयोजक समितिले जनाएको छ । स्टलहरुमा खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि, तथा हस्तकला सामग्रीहरु बिक्रि तथा प्रदर्शनीका साथै औद्योगिक उत्पादन, सूचना प्रविधि, अटोमोवाइल, कृषि औजार, इलेक्ट्रिोनिक्स तथा मोबाइल सामग्रीहरुको पनि प्रदर्शनी गरिने छ । हरेक दिन साँस्कृतिक कार्यक्रमहरुका साथ लन्डन ब्रिजको आकर्षणका साथ यस वर्षको महोत्वसको तयारी गरेको हो । सर्वसाधारणकालागि प्रवेश टिकट दर रु. १०० रहेको आयोजक समितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।















