नेमकिपाको आज ४८ औं स्थापना दिवस

नेमकिपाको आज ४८ औं स्थापना दिवस
भक्तपुर, माघ १० गते
विचार र सिद्धान्तप्रति निष्ठावान पार्टीको रुपमा परिचित नेपाल मजदुर किसान पार्टी(नेमकिपा)ले आज ४८ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाउदै छ । कोरोना संक्रमणका कारण भर्चियोल रुपमा मात्रै पार्टी स्थापना दिवस मनाउने तयारी भएको नेमकिपा भक्तपुर जिल्ला अध्यक्ष न्हुछे फोजुले जनाए । २०३१ साल माघ १० गते स्थापना भएको नेपाल मजदुर किसान संगठनलाई २०४६ सालको जनआन्दोलन पश्चात नेपाल मजदुर किसान पार्टीको रुपमा सैधान्तिक र बैचारिक रुपमा सडन देखि सडकसम्म जनताको प्रजातन्त्र र राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता एवं अन्तर्राष्ट्रिय राजनीति बारे अभियान चलाउँदै सयांै नेपाली राजनैतिक दलहरु बीच आफ्नो छुट्टै पहिचान बनाउँदै आएको छ ।
राष्ट्रिय, अन्तर्राष्ट्रिय बामपन्थी आन्दोलन बारे जनतालाई प्रशिक्षण एवं जानकारी दिने मात्र होइन राजनैतिक बिकृति बिसंगतिहरुको प्रखर प्रतिपक्षको भूमिका निभाउँदै राष्ट्रिय राजनीतिमा उच्च शीर बनाउन सफल प्रकाश स्तम्भको रुपमा परिचित पार्टीको रुपमा नेमकिपा उभिन्न सफल देखिन्छ ।
भक्तपुरका किसानहरु बीच मोहियानी हक, बालि काट्ने आन्दोलन, भपाई आन्दोलन, भ्रष्टाचार विरुद्धको आन्दोलनको जगमा नेमकिपा स्थापना भएको मानिन्छ ।
बहुमत किसान र मजदुर भएको देशमा नेपाल मजदुर किसान पार्टीको नामैले सत्तारुद दलको रुपमा हेर्न सकिने भएपनि स्थापना काल देखि प्रतिपक्षको भूमिकामा रहेको देखिन्छ । संख्या भन्दा गुणात्मकतालाई जोड दिदै राष्ट्रिय राजनीतिमा नेमकिपाले समाजवादी प्रजातन्त्रको वकालत गर्दै आएको छ । खोता विचारहरुको खण्डन गर्दै जनताको प्रजातन्त्र हुँदै समाजबाद र साम्यवादको लक्ष्य लिएको सो पार्टीले देश र जनताको सेवा नै राजनीति मान्दै आएको छ । ब्यापक जनतालाई बुद्धिजीविकरणमा जोड दिदै जनतालाई शिक्षा र स्वास्थ्यमा निःशुल्क ब्यवस्थाको माग गर्दै आएको छ ।
नेमकिपा स्थापना काल देखि अध्यक्ष भई नेतृत्व गर्दै आउनु भएका वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेले पार्टी स्थापना दिवसको अवसरमा “नेमकिपा बाटा र गल्लीमा आएका सबैलाई पार्टी सदस्यता दिएर महाधिवेशन र निर्वाचनमा गाईजात्रा देखाउनुलाई राजनीतिक संस्कृति मान्दैन” भन्ने भनाईका साथ आजको मजदुर दैनिकमा अन्तर्वाता दिदै पार्टी स्थापनाको इतिहास केलाउँदै नेमकिपाको ४८ वर्षको संघर्षपूर्ण कालखण्डलाई समीक्षा गरेका छन् ।