भिटिज भिसामा सरकारले लगाएको रोक आजबाट खुकुलो ।

भिटिज भिसामा सरकारले लगाएको रोक आजबाट खुकुलो ।।
गृह मन्त्रालयले खाडी मुलुक र मलेसियामा भिटिज भिसा अर्थात पर्यटक भिसामा जान रोक लगाउने निर्णयलाई संशोधन गरेको छ । मन्त्रालयले हिजो विज्ञप्ति जारी गर्दै भिजिट भिसामा जान सबैलाई रोक लगाउने निर्णय गरेकोमा त्यसलाई खुकुलो पारेको हो । आजबाट लागू हुने गरी खाडी मुलुक र मलेसियामा जान सबैलाई रोक लगाउने निर्णय मन्त्रालयले अस्ति शुक्रबार गरेको थियो । अब खाडी राष्ट्रबाहेक कम्तिमा दुई मुलुकको भ्रमण गरिसकेकालाई भ्रमण अनुमति दिइने छ । मन्त्रालयको प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार बिरामीको कुरुवा वा रेखदेखका लागि जाने तीन पुस्ताभित्रका परिवारका सदस्यलाई पनि जान दिने भनिएको छ । तर, नेपाली दूतावासको सिफारिस पत्र परराष्ट्र मन्त्रालयमार्फत आउनुपर्ने भनिएको छ । वैदेशिक रोजगारी व्यवसाय प्रवद्र्धनका लागि जाने मेनपावर कम्पनीका सञ्चालक र आधिकारिक प्रतिनिधिलाई पनि जान दिने निर्णय भएको छ । पोखरेलका अनुसार वार्षिक न्यूनतम ६ लाख रुपैयाँ कर योग्य भएर त्यसको आधा रकम बैङ्क खातामा बचत भएका र नेपालको कर प्रणालीमा आबद्ध व्यक्तिले पनि भिजिट भिसामा जान पाउने भएका छन् ।नेपालमा सामान आयत–निर्यात गर्ने व्यवसायिक संस्थाका प्रतिनिधि, सरकारी कामको सिलसिलामा जाने प्रतिनिधि र अन्तर्राष्ट्रिय कारोबार गर्ने बैङ्क तथा वित्तीय संस्थाका प्रतिनिधि लगायतलाई पनि यो सुविधा दिइने भनिएको छ ।