भक्तपुर उद्योग वाणिज्य संघका नव निर्वाचित कार्य समितिलाई बधाई तथा शुभकामना
१७ मंसिर २०७८, भक्तपुर ।
भक्तपुर उद्योग वाणिज्य संघका नव निर्वाचित कार्य समितिलाई एक समारोह बीच भक्तपुर इन्टरनेशनल अस्पतालमा स्वागत गरी बधाई तथा शुभकामना प्रदान गरियो । अस्पताल सञ्चालक समितिका अध्यक्ष श्री ज्ञान कृष्ण श्रेष्ठले संघका अध्यक्ष श्री शिव प्रसाद मानन्धर लगायत कार्य समितिलाई स्वागत गर्नु भएको थियो ।
संघका अध्यक्ष श्री शिव प्रसाद मानन्धरले स्वागत सम्मानका लागि आभार व्यक्त गर्दै भक्तपुर जिल्लामा स्थापना भएका उद्योग व्यवसायहरुको हित र प्रवद्र्धनमा संघ हरदम लाग्ने विश्वास दिलाउनु भयो । अस्पताल भन्ने वित्तिकै विरामीको सेवा गर्ने संस्था भएको हुनाले उत्कृष्ठ सेवाको अपेक्षा गरिने कुरा औंल्याउनु भयो । सेवामूखि भावले जिल्लाका विभिन्न संघ संस्थाहरु संग मिलेर अघि बढनु अस्पतालको लागि हितकर हुने सल्लाह दिँदै संघका सदस्य र परिवारका लागि छुट र सहुलियत दिने व्यवस्थाको लागि अस्पताल व्यवस्थापनलाई धन्यवाद समेत दिनु भयो ।
अस्पताल सञ्चालक समितिका अध्यक्ष श्री ज्ञान कृष्ण श्रेष्ठले संघका पदाधिकारीहरुलाई स्वागत गर्न पाउँदा खुशी लागेको छ भन्दै भक्तपुर उद्योग वाणिज्य संघका सदस्यहरुको लागि प्रिभिलेज कार्ड वितरण गरी सदस्य लगायत उहाँहरुका परिवारलाई विशेष छुट तथा सहुलियत दिन लागेको कुरा बताउनु भयो । ५० शैया क्षमता सहित गत चैत्र महिनादेखि अस्पतालले सेवा सुचारु गरेको जानकारी गराउँदै नेपाल सरकारको निर्देशन बमोजिम अस्पतालको पूर्ण क्षमताको ५ प्रतिशतले हुन आउने संख्या गरिब असहाय बिरामीहरुलाई छुट्याई अनिवार्य निशुल्क सेवा दिनु पर्ने व्यवस्थालाई पनि पालना गर्दै आएको बताउनु भयो ।
कार्यक्रममा अस्पतालका प्रशासन प्रमुख श्री रामजी कुमार श्रेष्ठले पनि आफ्नो बिचार राख्नु भएको थियो ।













