भक्तपुरको रानीपोखरी उत्तरपूर्व प्रवेशद्धार र पाटी निर्माण कार्यको शिलान्यास
२०७८ असोज २१ गते, बिहीबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. १ सल्लाघारीस्थित भक्तपुरको ऐतिहासिक रानीपोखरीको उत्तरपूर्व प्रवेशद्धार र पाटी निर्माण कार्यको बिहीबार एक समारोहबीच शिलान्यास गर्नुभयो ।
कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले सन् १६८६ मा राजा जगज्योर्ति मल्लको पालामा बनेको भक्तपुरको रानीपोखरीले भक्तपुरको सुन्दरता अझ बढाएको बताउनुहुँदै देशकै सुन्दर नगरको रुपमा विकास गर्न नगरपालिका निरन्तर लागिरहेको बताउनुभयो ।

भक्तपुरमा रहेको सांस्कृतिक एवम् पुरातात्विक सम्पदाको सुन्दरतालाई आर्थिक स्रोतमा रुपान्तरण गर्न सकिने बताउनुहुँदै उहाँले भक्तपुर नपाले आफ्नै स्रोतमा यहाँका सम्पदाहरु पुनःनिर्माण गर्दै आइरहेको बताउनुभयो ।
उहाँले कला संस्कृति संरक्षणलाई प्रमुख प्राथमिकतामा राखी भक्तपुर नपाले भूकम्पबाट भत्केका १०८ वटाभन्दा बढी सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धार गरिसकेको बताउनुहुँदै ऐतिहासिक रानी पोखरीले पुनःनिर्माणसँगै इतिहास खोतल्ने काम भएको बताउनुभयो ।
लामो इतिहास बोकेको यस पोखरी मौलिक शैलीमा निर्माण गरिएको अवगत गराउनुहुँदै नगर प्रमुख प्रजापतिले भक्तपुरलाई कला संस्कृतिको मात्र नभई सुन्दर नगरको रुपमा विकास गर्ने उद्देश्य रहेको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले रानीपोखरी पुनःनिर्माण सकिएपश्चात यथाशिघ्र सर्वसाधारणको लागि खुल्ला गरिने बताउनुहुँदै पोखरी वरिपरि हरियाली कायम गर्न बगैंचा बनाउने योजनामा रहेको बताउनुभयो ।
इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले सम्पदाहरु मौलिक स्वरुपमा पुनःनिर्माण गर्ने कार्यमा भक्तपुर नपाले अग्रणी भूमिका निर्वाह गरेको बताउनुहुँदै भक्तपुरको रानीपोखरीको पुनःनिर्माणले गौरवान्वित महसुस भएको बताउनुभयो ।
शिलान्यास कार्यक्रममा उपभोक्ता समितिका अध्यक्ष पुन्यराम गारु, कोषाध्यक्ष सुमित्रा धोँजु र स्थानीय कृष्ण गारुले पनि बोल्नुभएको थियो ।















