विद्यालयस्तरीय खेलकूद प्रतियोगिताको फाइनल खेल जारी, भोलि पुरस्कार वितरण हुने
भक्तपुर, पुस ८ गते

भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले नगरपालिकाले वर्षेनी विभिन्न खेलकूद प्रतियोगिता आयोजना गरी विद्यार्थीहरुको शारीरिक र व्यत्तित्व विकास मात्र नभई मानसिक विकासमा पनि योगदान दिइरहेको बताएका छन् । भक्तपुर नगरस्तरीय विद्यालयव्यापी कर्बडी प्रतियोगितामा विजयी छात्र छात्राहरुलाई मेडल र प्रमाण पत्र वितरण गर्दै उहाँले राज्यको पूँजीको रुपमा रहेको जनशक्ति पढेर सक्षम हुनुका साथै शारीरिकरुपमा पनि तन्दुरुस्त हुन खेलकूद आवश्यक भएको बताए । उहाँले यसैका लागि भक्तपुर नगरपालिकाले निरंतररुपमा खेल प्रतियोगिताहरु आयोजना गर्दै आएको बताउनु भयो । सो अवसरमा अखिल नेपाल कर्बडी संघका महासचिव विनोद प्रजापतिले कर्बडी खेललाई राष्ट्रियब्यापी र ब्यवसायिकरुपमा खेलाउन तयारी थालेको जनाउँदै राष्ट्रियस्तरका खेलाडीहरुलाई बिमाको समेत ब्यवस्था गर्ने बताउनु भयो । उहाँले प्रतियोगिताका दोस्रो हुन सफल खेलाडीहरुलाई मेडल र प्रमाण पत्र वितरण गर्नु भयो भने प्रशिक्षक तथा रेफ्रि पशुपति प्रजापतिले खेलमा तेस्रो भएको छात्र छात्रा खेलाडीहरुलाई मेडल र प्रमाण पत्र वितरण गर्नु भयो ।

भक्तपुर नगरस्तरीय विद्यालयव्यापी कर्बडी प्रतियोगितामा छात्र छात्रा दुबै प्रतियोगितामा पारागण एकेडेमी प्रथम भएका हुन भने शैनिक आवासिय माविका छात्र र बागीश्वरी माविका छात्रा खेलाडीहरु दोस्रो भए । यसै गरी तेस्रो स्थानमा छात्रा तर्फ बासु मावि र साईनिङ स्टुडेन्ट एकेडेमी र छात्र तर्फ बागीश्वरी मावि र मिनरुवा इ.स्कुल तेस्रो भएको थियो ।
यसै बीच कमलविनायकमा जारी खोखो खेलको फाइनल खेल भने भोलिविहान १० बजे आयोजना हुने आयोजक समितिका साजन दुवालले जनाएको छ । सबै भन्दा बढी रुचाएको खेलको रुपमा खोखोलाई लिएको छ । यस खेलमा मात्रै ४९२ जना खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।

दरवार क्षेत्रमा हिजो र आज गरी दुई दिन भएको कसिमला पाय्को भने आज फाइनल सकेर विजयी खेलाडीहरुलाई प्रमाण पत्र तथा मेडल वितरण गरिएको छ । यसै बीच विद्यार्थी निकेटनमा भएको तेकान्डो खेलका विजयी छात्र छात्रा खेलाडीहरुलाई भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले पुरस्कृत गर्नु भयो । उहाँे बासु माविमा भएको टेवुलटेनिस खेलका खेलाडीलाई पनि पुरस्कृत गर्नु भएको थियो ।
यसै बीच सुर्यविनायकमा भएको फुटसल खेल र दत्तात्रय मन्दिर परिसरमा सम्पन्न बुद्धिचाल प्रतियोगिताका विजेताहरुलाई पनि आजै पुरस्कृत गरेको छ । एथलेटिक्स खेलका विजेताहरुलाई हिजै भनपा ७ का वडाध्यक्ष उकेश कवांले पुरस्कृत गरिसकेको छ ।
भक्तपुर नगरका विभिन्न १४ स्थानमा १४ वटा खेलहरु आयोजना गरी खेल महोत्सव भएको पुस ५ गते देखि ९ गतेसम्मको प्रतियोगिताहरुमा २६९८ जना विद्यार्थी खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । खेलका विजयीहरुलाई मेडल तथा प्रमाण पत्र खेल सम्पन्न भएकै स्थानमा वितरण गरिए पनि उत्कृष्ठ खेलाडी र विद्यालयहरुलाई भोलि पुस ९ गते पुरस्कृत गर्नु साथै खेल सामग्री वितरण गर्ने नगरपालिकाको तयारी छ ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेले पुस ५ गते उद्घाटन गर्नु भएको यस प्रतियोगिताका पुरस्कार तथा खेल सामग्री वितरण भने नेमकिपाका सचिव एवं सांसद प्रेम सुवालको प्रमुख आतिथ्यता भोलि दिउँसो १ बजे शहीद स्मृति खेल मैदानमा आयोजना गर्ने नगरपालिकाको कार्यक्रम रहेको छ ।
















