काठमाडौंको कीर्तिपुर र चन्द्रागिरिमा देखियो बर्डफ्लुको सङ्क्रमण ।।
काठमाडौंमा फेरि बर्डफ्लुको सङ्क्रमण पुष्टि भएको छ । काठमाडौंको कीर्तिपुरस्थित दुई ठाउँ र चन्द्रागिरिमा पालिएको टर्कीमा बर्डफ्लुको सङ्क्रमण पुष्टि भएको पशु सेवा विभागले जनाएको छ । कीर्तिपुरको दुई वटा प्वाइन्ट र चन्द्रागिरिको एक ठाउँमा सोमबार बर्डफ्लु सङ्क्रमण पुष्टिपछि त्यस क्षेत्रका पन्छी नष्ट गर्न टोली खटाइएको विभागका सूचना अधिकारी डा.चन्द्र ढकालले बताउनुभयो । प्रारम्भिक रुपमा करीब ८ सय टर्की नष्ट र सो क्षेत्रमा निसङ्क्रमण गर्न आज बिहानैदेखि प्राविधिक खटिएको सूचना अधिकारी ढकालले जानकारी दिनुभयो । अस्वाभाविक रुपमा टर्की मृत्युको सूचना पछि विभागले नमूना सङ्कलन गरेर केन्द्रीय प्रयोगशालामा रियलटाइम पीसीआर विधिबाट गरेको परीक्षणमा बर्डफ्लु पुष्टि भएको पनि उहाँले बताउनुभयो । व्यावसायिक प्रयोजनका लागि किसानले फर्ममा पालेको टर्कीमा उक्त सङ्क्रमण पाइएको विभागले जनाएको छ । झन्डै दुई महिना अघि काठमाडौंको तारकेश्वर, ललितपुरको नख्खु लगायतका क्षेत्रमा लोकल कुखुरा र टर्कीमा बर्डफ्लु पाइएको थियो ।














