कोभिसिल्ड खोपको विकल्पमा अर्को खोप रोज्न नेपाललाई कोभ्याक्सको आग्रह ।
कोरोना खोप वितरणको एक विश्वव्यापी अभियान कोभ्याक्सले नेपाललाई कोभिसिल्ड खोपको विकल्पमा अर्को खोप रोज्न आग्रह गरेको छ । भारतको सेरम इन्स्टिच्यूट अफ इन्डियाले अझै एक वर्ष कोभिसिल्ड खोप दिन नसक्ने घोषणा गरेपछि कोभ्याक्सले त्यसको विकल्पमा अर्को उपयुक्त खोप रोज्न नेपाललाई आग्रह गरेको स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिनुभयो । कोभ्याक्सले सन् २०२१ को मे महिनासम्म नेपालमा १९ लाख २० हजार डोज खोप (कुल जनसंख्याको २० प्रतिशतलाई पुग्ने) खोप पठाउने प्रतिवद्धता जनाएको थियो । सोही प्रतिवद्धता अनुसार गत फागुन २३ गते पहिलो चरणमा ३ लाख ४८ हजार डोज कोभिसिल्ड खोप नेपाल पठाएको थियो । तर, सेरमले कोभ्याक्स कार्यक्रमलाई पनि कोभिसिल्ड दिन नसक्ने जनाएपछि कोभ्याक्सले नेपाललाई अर्को खोप रोज्न आग्रह गरेको हो । कोभ्याक्सलाई जवाफ पठाउनुअघि खोप समिति र स्वास्थ्य मन्त्रालयमा छलफल गरेर निर्णय गर्ने गौतमले बताउनुभयो ।














