आज अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाइँदै ।
आज अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ । ३१ औँ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा संयुक्त राष्ट्रसङ्घले यस वर्ष ‘सबै उमेर समूहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ नारा तय गरेको छ । दिवसको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिक अनुभव र व्यवहारमा परिपक्व व्यक्तित्व भएको बताउनुभएको छ । दिवसका अवसरमा सम्पूर्ण ज्येष्ठ नागरिकप्रति शुभकामना व्यक्त गर्दै उहाँले जीवनको लामो समय राष्ट्र सेवाको भूमिकामा रही प्राप्त हुने ज्ञान, सीप र अनुभवलाई मुलुकको सामाजिक–आर्थिक रूपान्तरण एवं विकासका लागि परिचालन गर्दै नयाँ पुस्तामा समेत हस्तान्तरण गर्ने वातावरण सिर्जना गर्नेतर्फ सरकार अग्रसर रहेको उल्लेख गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकको जीविकोपार्जन र रहनसहनलाई मानवोचितस्तरमा सुनिश्चित गर्न सरकारले प्राथमिकताका साथ काम गर्नुपर्ने बताउनुभएको छ ।
यसैबीचअन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले स्वास्थ्य बीमा, सामाजिक सुरक्षा भत्ताजस्ता सेवा र सुविधालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सम्बद्ध निकायलाई आग्रह गर्नुभएको छ । उहाँले तीव्र रूपमा विकसित भइरहेको विद्युतीय प्रविधिको माध्यमबाट ज्येष्ठ नागरिकको जीवनलाई सरल र सम्मानित बनाउन हामीले गर्ने थप मेहनतले मात्र यो अभियान सार्थक हुन सक्ने बताउनुभएको छ ।
राज्यले संरक्षण दिन नसकेको जेष्ठ नागरिकको गुनासो ।
सुशीला श्रेष्ठ, सीआईएन, काठमाडौँ
जेष्ठ नागरिकलाई विशेष संरक्षण तथा सामाजिक सुरक्षा प्राप्त गर्ने हक भएपनि त्यसको कार्यान्वयन नभएको जेष्ठ नागरिकहरूको गुनासो छ । जेष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता अन्तर्गत मासिक ४ हजार उपलब्ध गराउने सरकारी व्यवस्था भए पनि सबैले यो सुविधा पाएका छैनन् । असहाय जेष्ठ नागरिक र सम्पन्न जेष्ठ नागरिकलाई एउटै भत्ता दिएकोमा विशेषगरी मन्दिर, पार्टीमा बस्दै आएका वृद्धवृद्धाहरूलाई चित्त बुझेको छैन । असहाय जेष्ठ नागरिकलाई गाँस र सुरक्षित आवासको व्यवस्था गर्नुपर्ने काठमाडौँ गोठाटारका केदार सापकोटाले बताउनुभयो । सरकारले जेष्ठ नागरिकका लागि व्यवस्था गरेको निशुल्क स्वास्थ्य उपचार र यातायातमा ५० प्रतिशत छुट सुविधा पनि पूर्ण कार्यान्वयनमा आउन सकेको छैन । खोटाङ घर भइ काठमाडाँको पशुपति क्षेत्रको पाटीमा बस्दै आउनुभएका ७१ वर्षका शेर बहादुर कटुवालले सरकारले बाँच्ने आधार पनि नदिएको दुखेसो गर्नुभयो । परिवारको अपहेलना, अपाङ्गता लगायतका कारण घर छोडेर पाटीमा बस्न बाध्य हुनुभएका भोजपुरका रामबहादुर कार्कीले बाचुञ्जेल सुरक्षित आवासमा बस्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो । २०६८ को जनगणना अनुसार ६० वर्ष र त्यसभन्दा माथिको उमेरका नागरिकको सङ्ख्यानेपालमा साढे २१ लाख भन्दा धेरै छ । आर्थिक वर्ष ०७५÷०७६ मा ज्येष्ठ नागरिकका लागि निःशुल्क एक लाखसम्मको स्वास्थ्य बिमा उपलब्ध गराउने घोषणा गरे पनि पूरै कार्यान्वयनमा नआएको जेष्ठ नागरिकहरू बताउछन् । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सूचना अधिकारी निराजन घिमिरेले जेष्ठ नागरिकको क्षेत्रमा क्रियाशील सङ्घ संस्थालाई अनुदान पठाएर करिव १७ सयलाई संरक्षण गरिएको बताउनुभयो । काठमाडौँको गोठाटारमा अस्पतालसहितको जेष्ठ नागरिक आवास गृह निर्माण गर्ने योजना रहेको घिमीरेको भनाइ छ । नेपालको संविधानले जेष्ठ नागरिकको संरक्षण, सशक्तिकरण वा विकासका लागि कानुन बमोजिम विषेश व्यवस्था गर्ने भने पनि व्यवहारिक कार्यान्वयन भएको छैन ।










