प्राधिकरणमा कुलमानका चार वर्ष : झण्डै डुबेको संस्था खूद नाफामा

यस्तो छ रिपोर्ट कार्ड

सरकारले २०७३ साल भदौ २९ गते घिसिङलाई ४ वर्षका लागि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । मन्त्रिपरिषद्को निर्णयका आधारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र घिसिङबीच प्राधिकरण सुधारका विभिन्न सूचकाङ्कहरु तयार गरी कार्यसम्पादन सम्झौता भएको थियो । ऊर्जा मन्त्रालयले गरेको कार्यसम्पादन सम्झौताको मूल्याङ्कनमा आर्थिक वर्ष २०७३/७४ मा ८८.१९, आव ०७४/७५ मा ८७.९८, आव ०७५/७६ मा ८६.८२ र आव २०७६/७७ मा ८७.५५ प्रतिशत नतिजा घिसिङले प्राप्त गर्नुभएको छ । बिदाइ समारोहमा घिसिङले भन्नुभयो, “मैले जिम्मेवारी सम्हाल्दा अन्धकारले मुलुक आक्रान्त थियो । बर्सातको समयमा समेत ६ देखि ८ घण्टाको लोडसेडिङ व्यहोरिरहनु परेको र हिउँदमा दैनिक १४ घण्टासम्म लोडसेडिङ गर्नुपर्ने प्रक्षेपण थियो ।” प्राधिकरणको आव २०७२/७३ सम्ममा सञ्चित घाटा रु ३४ अर्ब ६१ करोड पुगेको थियो भने सोही वर्ष आठ अर्ब ८९ करोड खुद नोक्सानी थियो । एकातर्फ कहालि लाग्दो अँध्यारोले मुलुक आक्रान्त थियो भने अर्कोतर्फ प्राधिकरणको घाटाको ग्राफ बढ्दो क्रममा थियो । प्रणालीमा वार्षिक विद्युत् चुहावट २५.७८ प्रतिशत थियो, करीब ६३ प्रतिशत जनता मात्रै ग्रिडको विद्युत् पहुँचमा थिए । सरकारले घिसिङलाई दिएको मुख्य जिम्मेवारी पनि विद्युत्भार कटौतीको अन्त्य गरी अँध्यारो युगलाई उज्यालो बनाउने र प्राधिकरणको सुधार गर्ने नै थियो । सो कार्यमा घिसिङले राम्रो नजिता निकाल्नु भएको छ । विद्युत् माग र आपूर्ति बीचको सन्तुलित, वैज्ञानिक व्यवस्थापन र इमान्दार प्रयासबाट मुलुकलाई विद्युत्भार कटौतीको अन्त्य गर्न सफल भएको जानकारी दिँदै घिसिङले भन्नुभयो, “लोडसेडिङ अन्त्य गर्नुमात्र हाम्रो अन्तिम अभीष्ट थिएन । हाम्रो योजना प्राधिकरणको चौतर्फी सुधार र विभिन्न कारणले जीर्ण बनेका तथा अलपत्र अवस्थामा रहेका उत्पादन, प्रसारण तथा वितरण तर्फका आयोजना सम्पन्न गर्नु तथा नयाँ शुरु गर्नु थियो । जीर्ण बनेका अधिकांश आयोजना निरन्तरको प्रयासबाट निर्माण सम्पन्न भएका छन् भने केही सम्पन्न हुने चरणमा पुगेका छन् ।” घिसिङले प्राधिकरणको नेतृत्व सम्हालेको पहिलो आर्थिक वर्षमा प्राधिकरणले रु एक अर्ब ४७ करोड खुद नाफा कमायो । त्यसपछिका वर्षहरुमा नाफाको ग्राफ उकालो लाग्दै गयो । दोस्रो वर्ष रु दुई अर्ब ८५ करोड, तेस्रो वर्ष रु नौ अर्ब ८१ करोड २५ लाख खुद नाफा कमायो, चौथो वर्षमा मुनाफा बढेर रु ११ अर्ब पाँच करोड पुगेको छ । कुनै बेला कर्मचारीलाई तलब खुवाउन पनि सरकारको मुख ताक्नुपर्ने अवस्थामा पुगेको प्राधिकरण सञ्चालनमा रहेका सार्वजनिक संस्थानमध्ये दुई वर्षदेखि सबैभन्दा बढी खुद नाफा कमाउने संस्था बनेर गौरवपूर्ण इतिहास बनाउन सफल भएको छ । चालू आवको बजेटमा प्राधिकरणको नाफा रु ११ अर्बभन्दा बढी रहने प्रक्षेपण गरिएको छ । ऋणात्मक रहेको सञ्चित कोष धनात्मकतर्फ अघि बढिरहेको छ । चार वर्षअघि रु ३४ अर्ब ६१ करोड सञ्चित नोक्सानी रहेकामा आव ०७६/७७ मा प्राधिकरणले सम्पूर्ण सञ्चित नोक्सानीलाई शून्यमा झारी करीब रु पाँच अर्ब नाफा कमाएको छ । विद्युत्भार कटौतीको अन्त्य भई नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्रसारण तथा वितरणतर्फको विद्युत् चुहावट उल्लेख्य रुपमा घटेको छ । चार वर्षअघि प्रणालीमा रहेको २५.७८ प्रतिशत विद्युत् चुहावटलाई घटाएर अहिले १५.२७ प्रतिशतमा झारिएको छ । देशभरका करीब ८६ प्रतिशत जनताले ग्रिडको विद्युत्मा पहुँच पाएका छन् । अफ ग्रिडसहित करीब ९० प्रतिशत जनताले विद्युत् ऊर्जामा पहँुच प्राप्त गरेका छन् । चार वर्षअघि प्रतिव्यक्ति प्रतिवर्ष विद्युत् खपत १३०.७८ युनिट मात्रै रहेकामा अहिले बढेर २६० युनिट पुगेको छ । यो प्राधिकरणको मुख्य सफलता रहेको घिसिङले जानकारी दिनुभयो । कार्यक्रममा प्राधिकरणका वरिष्ठ उपकार्यकारी निर्देशकहरुले घिसिङको पुनः नियुक्ति हुने र आफूहरुले पुनः सबल तथा सक्षम अभिभावक पाउने विश्वास मात्रै व्यक्त गरेनन् संस्थामा शुरु भएको सुशासन र पारदर्शितासहित आगामी लक्ष्य हासिल गर्न अझै सँगै काम गर्ने इच्छासमेत व्यक्त गरे ।

शत्रुले पनि सम्मान गर्ने नेतृत्व

वरिष्ठ उपकार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले कामप्रति इमान्दार, लगनशील तथा मेहनती व्यक्तित्व घिसिङको नेतृत्वमा प्राधिकरण अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । “बिदाको दिनसमेत नभनी काम गर्ने, संस्थालाई नै केन्द्रमा राखेर काम गर्ने घिसिङजस्तो व्यक्तित्वको खाँचो अझै पनि प्राधिकरणलाई छ”, शाक्यले भन्नुभयो, “उहाँको क्षमता शत्रुले समेत सम्मान गर्ने खालको छ ।” उहाँले घिसिङको नेतृत्वले गर्दा प्राधिकरणको कर्मचारी भनेर बाहिर शिर उठाएर हिँड्ने वातावरण बनेको बताउनुभयो । प्राधिकरणका अर्का उपकार्यकारी निर्देशक हरराज न्यौपानेले संस्थालाई सबल बनाउन नेतृत्वकर्ता नै ऊर्जाशील हुनुपर्ने तथ्य स्थापित भएको भन्दै घिसिङले बसाएको जगलाई पूरा गर्न सबैले उत्तिकै मेहनत गर्नुपर्ने बताउनुभयो । उहाँले आगामी दिनमा पनि घिसिङले नै प्राधिकरणको नेतृत्व गर्ने वातावरण बन्ने विश्वास व्यक्त गर्नुभयो । उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले प्राधिकरणप्रति नागरिकमा बढेको विश्वासलाई थप बढाउँदै सरकारले लिएको लक्ष्य पूरा गर्न पनि घिसिङ जस्तै नेतृत्व जरुरी रहेको बताउनुभयो । आधिकारिक कर्मचारी युनियनका संयोजक रामेश्वर पौडेलले घिसिङको पुनः नियुक्तिका सन्दर्भमा देखिएको कानूनी जटिलता फुकाएरै भए पनि एकाध दिनमा नै पुनः नियुक्ति पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले उज्यालो र समृद्ध नेपाल निर्माण गर्ने सङ्कल्प लिएको वर्तमान सरकारले एकपटक घिसिङलाई नै प्राधिकरणको जिम्मा दिनेमा आफू आशावादी रहेको बताउनुभयो ।