नंखेल जग्गा विवादः अनधिकृत निर्माण कार्य रोक्न नसुनपाको निर्देशन

नंखेल जग्गा विवादः अनाधिकृत निर्माण कार्य रोक्न नसुनपाको निर्देशन

भक्तपुर / सूर्यविनायक नगरपालिकाले वडा नं. ९ स्थित कित्ता नं. १३०२ मा भइरहेको निर्माण कार्य तत्काल रोक्न निर्देशन दिएको छ। स्थानीय जग्गाधनीहरूबीच विवाद उत्पन्न भएपछि नगरपालिकाले आधिकारिक स्वीकृति बिना निर्माण अगाडि नबढाउन पत्राचार गरेको हो।

विवादको कारण
सूर्यविनायक नगरपालिका वडा नं.९ स्थित कित्ता नं. १३०२ मा विशेषश्वर थापाले टहरा निर्माण गर्दा आफ्नो जग्गा मिचिएको भन्दै विष्णु हरि लोहला र कृष्ण खत्रीले नगरपालिकामा निवेदन दर्ता गराएका थिए। सोही निवेदनका आधारमा अमिन लिला बहादुर थापाबाट गरिएको फिल्ड नापजाँच तथा नक्सा मिलानमा हालको भोगचलन र नक्साको क्षेत्रफलबीच भिन्नता पाइएको छ। नक्सा अनुसार जग्गाको क्षेत्रफल र हाल भोगचलन गरिरहेको अवस्था मेल नखाएपछि र आधिकारिक स्वीकृति बिना निर्माण कार्य अधि ढाइएको पाइएपछि नगरपालिकाले हस्तक्षेपन गरेको हो।

नगरपालिकाको निर्देशन
सूर्यविनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यद्वारा हस्ताक्षरित पत्रमा जग्गाहरूको विवाद समाधान नभएसम्मका लागि तत्काल निर्माण कार्य रोक लगाइएको छ। साथै, नियमानुसार नक्सा स्वीकृति गरेर मात्र निर्माण कार्य अगाडि बढाउन सम्बन्धित पक्षलाई जानकारी गराइएको छ। उक्त पत्रको बोधार्थ वडा नं.९ को कार्यालय, विष्णु हरि लोहला र कृष्ण खत्रीलाई समेत पठाइएको छ। साथै सो पत्रको अवज्ञा गरेमा निर्माण सामग्री समेत जफत गर्ने मौखिक निर्देशन जारी भएको पीडित पक्षले जनाएको छ ।