भक्तपुरका ४१ सहित देशभर ११११ जना थप संक्रमित, ८ को मृत्यु
भक्तपुर, भाद्र ११ गते
भक्तपुरका थप ४१ जना कोरोना संक्रमित भएका छन् । काठमाण्डौका २७० र ललितपुरका ६६ जना गरी कामाण्डौ उपत्यकामा ३७७ जना बिहिबार थप संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उपत्यकामा ३७७ जना सहित देशभर भने १ हजार १११ जना संक्रमित भएका छन् । पछिलो २४ घण्टामा गरिएको १२ हजार ६२९ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएको हो । बिहिबार संक्रमितहरु ३३४ मलिा र ७७७ जना पुरुष गरी १ हजार १११ जना संक्रमित भएका हुन ।
बिहिबार साँझसम्म थप ८ जना कोरोना संक्रमितको मृत्यु भएपछि मुत्यु हुनेको संख्या १ सय ८३ जना पुगेको छ । बिहिबार साँझसम्म मृत्यु पुष्टि भएका ८ जनामा५ महिला र ३ पुरुष रहेका छन् । मृत्यु हुनेहरुमा ललितपुरका ६५ वर्षीय महिला, काठमाण्डौका ४८ वर्षीय पुरुष, बाराकी २३ वर्षीय महिला, पर्साका ६२ वर्षीय पुरुष, कपिलवस्तुका ५० वर्षीय पुरुष, रुपन्देहीकी ७० वर्षीय महिला, बाँकेकी ७० वर्षीय महिला र कास्कीकी ३२ वर्षीय महिला रहेका छन् ।
पछिल्लो २४ घण्टामा ५६९ जना संक्रमण मुक्त भएका थिए । योसँगै देशभर २० हजार ७३ जना संक्रमण मुक्त भइसकेका छन् । यद्यपी सक्रिय संक्रमितको संख्या १५ हजार २७३ जनामात्र रहेका छन् । हाल होम आइसोलेशनमा ६ हजार २१० र संस्थागत आइसोलेशनमा ९ हजार ६३ जना रहेका छन् भने क्वारेन्टिनमा ९ हजार ४ सय ८८ जना रहेका छन् । देशभर कोरोना संभाबित ६ लाख ४७ हजार ८८१ जनाको पीसीआर परीक्षण गरी सक्दा ३५ हजार ५२९ जनामा संक्रमण पुष्टि गरेको छ ।














