पछिलो २४ घण्टामा भक्तपुरका १ जनाको मृत्यु, २४ जना थप संक्रमित

पछिलो २४ घण्टामा भक्तपुरका १ जनाको मृत्यु, २४ जना थप संक्रमित

भक्तपुर, भाद्र १० गते

पछिलो २४ घण्टाको अवधिमा भक्तपुरका थप  २४ जनामा बुधबार कोरोना संक्रमण देखिएको छ भने कोरोना संक्रमण पछि उपचारमा रहेका सूर्यविनायक नपा ८ भक्तपुरका एक ५५ वर्षीय महिलाको मृत्यु भएको छ । यो संगै भक्तपुरमा कोरोना संक्रमण भई मृत्यु हुनेको संख्या २ महिला र १ पुरुष सहित ३ जना पुगेको छ |संक्रमितको संख्या पनि ३ सय नाघेको छ | निको हुनेको सख्या भने ६९ मात्र रहेको छ |
कोरोना भाइरसबाट बुधबार एक्कै दिन देशभर थप ८८५ जना संक्रमति भएका छन् भने निको हुनेको संख्या ३८५ मात्र रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिलो २४ घण्टामा १३ हजार २५३ जनाको पीसीआर परीक्षण गर्दा ८८५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएको छ । प्रवक्ता गौतमका अनुसार गत २४ घण्टामा २ महिला र ९ पुरुष सहित ११ जना कोरोना संक्रमितको पनि मृत्यु भएको पुष्टि गरेका छन् । योसँगै देशभर कोरोना संक्रमण भई मृत्यु हुनेको संख्या १७५ पुगेको छ । अहिले आइसोलेशनमा १४ हजार ७३९ जना रहेको छ ।
भक्तपुरका २४ जना सहित उपत्यकामा बुधबार ३०१ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाण्डौका २३० जना, ललितपुरका ४७ र भक्तपुरका २४ जनामा संक्रमण हुँदा बुधबार एक्कै दिन ३०१ जनामा संक्रमण देखिएको हो । यो नै उपत्यकामा अहिलेसम्म बढी संक्रमित देखिएको हो भने काठमाण्डौका एक जना र भक्तपुरका एक जना संक्रमितको मृत्यु समेत भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जनाएको छ ।
बुधबार साँझ ४ बजेसम्ममा देशमा कुल संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ भने निको हुनेको संख्या १९ जार ५०४ रहेको पनि जनाएको छ ।