भक्तपुरका ५ जना सहित देशभर ४१८ जना कोरना संक्रमण
भक्तपुर, श्रावण १९ गते
सोमबार देशभर थपिएका ४१८ कोरना भाइरसका संक्रमितहरु मध्ये ५ जना भक्तपुरका रहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । यो संगै देशभर कोरना भाइरस संक्रमित हुनेको संख्या २० हजार ७५० पुगेको छ । संक्रमितहरु मध्ये १४ हजार ९ सय ६१ जना कोरना मुक्त भएपछि हाल ५ हजार ७३२ जना मात्र सक्रिय कोरना संक्रमित रहेका छन् । हाल देशभर १० हजार ४ सय ५२ जना क्वारेन्टिनमा रहेका छन् । गत २४ घण्टामा ३५८ जना कोरना मुक्त भई घर फर्किएको स्वास्थ्य तथा जनसञ्चार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । अहिलेसम्म कोरना भाइरस संक्रमण देखिएर मृत्यु भएकाहरुको संख्या ५७ जना पुगेको छ ।
काठमाण्डौ उपत्यकामा सोमबार ५१ ज्नामा संक्रमण भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ जिल्लाका ४३ जना, ललितपुरका ३ जना र भक्तपुरका ५ जना नयाँ संक्रमण पुष्टि भएका हुन ।
जनस्वास्थ्य प्रयोगशाला, टेकुमा पछिल्लो चौबीस घण्टामा गरिएको परीक्षणमा काठमाडौंका आठ जना, भक्तपुरमा एक र शुक्रराज अस्पताल, टेकुमा काठमाडौंका १७ जना, पाटन अस्पतालमा काठमाडौंका पाँच, ललितपुरका दुई तथा भक्तपुरका चार जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
त्यसैगरी, वीर अस्पताल, काठमाडौंमा गरिएको परीक्षणमा दुईजना काठमाडौंका, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा काठमाडौंका एक, नेपाल प्रहरी अस्पतालमा दुई तथा स्टार अस्पताल, सानेपामा काठमाडौंका पाँच तथा ललितपुरका एक र बिरेन्द्र छाउनी अस्पतालमा काठमाडौंका तीन जनामा सङ्क्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ














