‘ख्वपको पहिचान’ थप पठनिय बनाउन लेखकहरुको सुझाव संकलन

‘ख्वपको पहिचान’ थप पठनिय बनाउन

लेखकहरुको सुझाव संकलन

२०७७ असार २५ गते, बिहीबार
भक्तपुर नगरपालिकामा भक्तपुर नगरपालिकाको स्थानीय पाठ्यक्रमको सन्दर्भ सामाग्री ‘ख्वपको पहिचान’ का लेखकहरुसँग बिहीबार छलफल कार्यक्रम भयो ।
कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले नगरभित्र सञ्चालित सामुदायिक र संस्थागत गरी ९२ वटा विद्यालयहरुमा एकैसाथ लागु हुने गरी स्थानीय पाठ्यक्रमको पठनपाठन भइरहेको र पाठ्यक्रमलाई सहजीकरण गर्ने उद्देश्यले भक्तपुर नपाले सन्दर्भ सामाग्रीको प्रकाशन गरेको बताउनुभयो ।
‘ख्वपको पहिचान’ पुस्तकमा अमूल्य लेखहरुको निम्ति धन्यवादज्ञापन गर्नुहुँदै उहाँले भक्तपुर जिल्लाको अध्ययन र अनुसन्धान गर्ने विद्यार्थी, शिक्षक, पत्रकार र अन्य अनुसन्धानकर्ताहरुको लागि यो पुस्तक पठनीय हुनेमा विश्वास व्यक्त गर्नुभयो ।


कार्यक्रममा सहभागी लेखकहरुले ‘ख्वपको पहिचान’ पुस्तकमाथि रचनात्मक सुझावहरु प्रस्तुत गर्नुभयो । उहाँहरुले पुस्तकमा समावेश लेखहरु भक्तपुरको पहिचान झल्काउने महत्वपूर्ण पुस्तक भएको, हरेक लेखलाई विज्ञानसँग जोड्नुपर्ने, मुद्राराक्षसमा भएका त्रुटीहरुलाई आगामी दिनहरुमा परिस्कृत गर्दै लानुपर्ने, लेखसँग सम्बन्धित तस्बीरहरु राखिनु उचित हुनेलगायतका सुझावहरु दिनुभयो ।
‘ख्वपको पहिचान’ सन्दर्भ सामाग्री भाग १ को मिति २०७७ असार २३ गते सार्वजनिकीकरण गरिएको थियो । स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका संयोजक योगेन्द्रमान बिजुक्छेँले दोस्रो भाग पनि छिटै नै तयारी गर्ने बताउनुभयो ।