जिल्ला सिमा वारपार कोरनाको थप जोखिमको भार

भक्तपुर, बैशाख १० गते
जिल्ला सिमा वारपार गर्ने सवारी साधनहरुको निर्मलीकरण कार्य नियमितरुपमा भइरहे पनि चालक, सहचालक र अन्य यात्रुको स्वस्थ्य परीक्षण कार्य नियमति हुन नसकेको देख्दा कोरना भाइरसको जोखिम उच्च रहेको कार्यक्षेत्रमा क्रियाशिल स्वयंसेवकहरुले बताएका छन् । साँगाको चेकपोष्टमा ट्राफिक प्रहरी, नेपाल प्रहरी सहित आवतजावत गर्ने सवारी साधनको निर्मलीकरणमा ब्यस्त रहेका स्वयंसेवकहरु आफै असुरक्षित महसुस गर्दै छन् । सामान्य पीपीइ सेटमा २० किलोसम्म ओजन रहेको बिजनासक औषधी सेट बोक्दै दिनभर निर्मलीकरणमा ब्यस्तरहँदा पूर्वी नेपाल भारत सिमा क्षेत्रका एम्बुलेन्स देखि विभिन्न गाडीहरु नजिक पुग्न स्वयंसेवकहरु बाध्य छन् । यसले कता कता आफूहरु पनि असुरक्षित रहेको महसुस गराएको उहाँहरुले बताएका हुन । वरपरका गाडीहरु आवजावत गर्दा कुनै असुरक्षा महसुस नगरिएपनि सिमाबर्ती क्षेत्रका अतिआवश्यक गाडीहरु आवतजावत हुँदा भने उच्च जोखिम नै रहेको उहांहरुले ठहर गरेका छन् । त्यो जोखिम अनुसार उहाँहरुलाई अलि सुरक्षित पीपीइ सेटमा खट्न पाएको भए जोखिम ब्यवस्थापन हुने महसुस गराएको स्वयंसेवकहरुले अनुभूति गरि रहेका छन् ।


नेपाल रेडक्रस सोसाईटी भक्तपुरले दिएको सामान्य कपडाको पीपीई सेट माथि रेडक्रसको एप्रोनबाटै दैनिक सयौं त्यस्ता गाडीहरुमा चढेका यात्रु ओराल्दै सवारी साधनको निर्मलीकरण गर्दै आएका स्वयंसेवकहरुले चालक सह चालक र यात्रुको ज्वरो वा स्वास्थ्य परीक्षण गरेर मात्रै आवतजावत गराउन आवश्यक भएको औल्याएका छन् । जिल्ला टफिक कार्यालय भक्तपुरबाट खतिएका र जगाति प्रहरीबाट खतिएका प्रहरी समेत आआफ्नो ड्ेसमै रहेर गाडी रोक्ने, यात्रु बर्साने र चेकजाँच गर्नेमा ब्यस्त छन् । यसले उहाँहरु आफैलाई एकातिर असुरक्षित गराएको छ भने अतिआवश्यक काममा दिनभरी हजारौं यात्रुहरुको नियमनमा रहँदा यात्रामा रहेका यात्रुहरु समेत असुरक्षित भइरहेका छन् ।


जिल्ला विपद् व्यवस्थापन सेन्टरको निर्देशन अनुसार स्थानीय नगरपालिका, महानगरीय प्रहरी, टफिक प्रहरी र नेपाल रेडक्रस सोसाईटी भक्तपुरका स्वंयसेवकहरुको सक्रियतामा साँगाबाट भक्तपुर आउने र जडिवुटीबाट भक्तपुर आउने गाडीहरुको नियमित निर्मलीकरण गर्ने कार्य भईरहेको हो । बुधबार साँगा चेकपोष्टमा एकछिन हेर्दा परिचालित सुरक्षाकर्मीहरुले गाडी रोक्छन्, रेडक्रस भक्तपुरका तालिम प्राप्त स्वयंसेवकहरुले चालक सहचालक र यात्रुलाई बाहीर ओराल्दै गाडीको चालक कक्ष देखि पूरै गाडी निर्मलीकरण गर्न थाल्छन् । यात्रामा रहेका यात्रु चालक परिचालकहरु आफ्नो गाडीमा विजनासक औषधी छर्किदा आफूहरु सुरक्षित भएको महसुस गर्छन् । एकै छिनमा झापाको एम्बुलेन्स पनि आइपुगे । एम्बुलेन्सलाई पहिलो प्राथमिकता दिएर निर्मलीकरणमा स्वयंसेवक ब्यक्त भए । लक डाउनको समयमा एम्बुलेन्स र खाद्यान्न सामग्री बोक्ने तथा अति आवश्यक काममा हिडेका व्यक्तिहरु एवं सरकारी तथा बैकका कर्मचारीहरु, स्वयंसेवक,पत्रकार देखि गन्तव्यमा हिडेका अन्य विभिन्न सवारी साधनहरुको निर्मलीकरण भइरहदा एकछिन त जाम नै भयोे ।
कोरना भाइरसको जोखिम व्यवस्थापनका लागि गत हप्ता देखि थालिएको यो अभियानमा दिनको सयौं सवारीसाधनहरुलाई स्यानिटाइजर गरिरहेको छ । विहान ८ बजे देखि साँझ ५ बजेसम्म आगमन भएका सवारीहरुको निर्मलीकरण कार्य भइरहेको हो । नालाबाटो भएर पनि भक्तपुर आउने गाडीहरुको भने बनेपाचोकमै निर्मलीकरण कार्यका लागि थप स्वयंसेवक परिचान गरिएको छ । जिल्लाका सिमा नाकाहरुमा आवश्यकता अनुसार सुरक्षा चेक र निर्मलीकरणका पोष्टहरु स्थापना गरी जोखिम ब्यवस्थापन गरिरहँदा स्वयंसेवक एवं सुरक्षाकर्मीहरुको साथमा चालक परिचालक र यात्रुको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मीहरुको टोली समेत परिचालन गर्न आवश्यक भएको देखिएको छ ।