नेपाल भ्रमण वर्ष २०२०को अवसरमा भक्तपुरमा प्रभातफेरी, नौका बिहार सेवा पनि सुरु

भक्तपुर, पुस १६ गते । २० लाख पर्यटन भित्रयाउने नेपाल सरकारको नेपाल भ्रमण वर्ष २०२० बुधबार देखि सुरु भएको छ । आज साँझबाट औपचारिक रुपले भ्रमण वर्ष सुभराम्भ गर्ने सरकारको तयारी भए पनि देशभर आज विहान देखि औपचारिक रुपमा नेपाल भ्रमण वर्ष सुरु गरेका छन् । नयाँ वर्ष २०२०को पहिलो दिनको अवसरमा भक्तपुर नगर प्रवेश गर्ने पहिलो पर्यटकहरुलाई स्वागत तथा उपहार प्रदान गरी भक्तपुर नगरपालिकाले पनि नेपाल भ्रमण वर्ष २०२०को शुरुवात गरेको हो ।

भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले आज विहान भक्तपुर नगर प्रवेश गर्ने पहिलो पर्यटकहरुकालागि स्वागत तथा उपहार प्रदान गर्दै भ्रमण वर्षको सुभारम्भ गर्नु भएको छ । भक्तपुर नगरपालिकाले पर्यटन वर्ष आरम्भ गर्दै आजदेखि सिद्धपोखरी, नःपुखुमा नौका ढुंगा सेवा पनि उद्घाटन गरेको छ । यो सेवा सर्वसाधारण समुदायको लागि पनि खुल्ला गरिएको छ । आज विहान दत्तात्रय मन्दिर परिसरबाट साँस्कृतिक झांकी सहित पर्यटन व्यवसायी, जनप्रतिनिधी र सम्पदा प्रेमी समुदायहरुको सहभागितामा भक्तपुर नगरपालिकाले प्रभातफेरी आयोजना गरी नेपाल भ्रमण वर्ष २०२०को सुभारम्भ गरेका हुन । आज साँझ नगरका विभिन्न ठाउँमा दिपाबली गरी नेपाल भ्रमणवर्ष २०२०लाई स्वागत गर्नेछन् ।