दुवाकोटस्थि सरस्वतीखेलमा जेष्ठ नागरिककालागि निःशुल्क स्वास्थ्य शिविर आयोजना
भक्तपुर, फाल्गुण १२ गते
स्वास्थ्य बुढ्यौलीका लागि सहारा परियोजना अन्तर्गत चाँगुनारायण नगरपालिका वडा नं. १ स्थित सरस्वती खेलमा आज जेष्ठ नागरिक निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाको साझेदारीमा सञ्चालित सहारा परियोजना अन्तर्गत चाँगु नगरका करिब ८ हजार जेष्ठ नागरिक मैत्रीे स्वास्थ्य सेवाकालागि सो शिविर आयोजना गरेको थियो ।
शिविरको शुभारम्भ गर्दै नगर प्रमुख जीवन खत्रीले जेष्ठ नागरिकको जीवन यापनलाई सहज बनाउन, साहारा भएको अनुभूति गराउदै बुढ्ेसकाल सुखमय र आनन्दित बनाउन यो परियोजना सञ्चालनमा आएको बताएका छन् । जेष्ठ नागरिकबाट पनि थप मार्ग निर्देशन प्राप्त गर्ने उल्लेख गर्दै नगरप्रमुख खत्रीले जनताको स्वास्थ्य सेवाप्रति चाँगुनारायण नगरपालिका संवेदनशिल रहेको बताएका थिए । कार्यक्रममा रेडक्रस भक्तपुरका सभापति पर्शुराम पाण्डेले पनि बोल्नु भएको थियो ।


शिविरमा नाक, कान, घाँटी, हाड जोर्नी तथा नशा समस्या, स्त्री रोग, आँखा चेक जाँच, सुगर तथा प्रेसर जाँच गर्नुका साथै औषधी वितरण समेत गरेको स्वास्थ्य शाखा चाँगुनारायण नगरपालिकाका शाखा प्रमुख दिलकुमार दुवालले जनाएको छ । दुवालका अनुसार चाँगु नारायण नगरका वडा वडामा पुगेर यसै गरी स्वास्थ्य शिविर मार्फत जेष्ठ नागरिकहरुको नियमित स्वास्थ्य परिक्षण, थप उपचार तथा परार्मश दिदै आएको बताउनु भयो । यसै बीच चाँगु नगर अस्पतालका प्रमुख अर्जुन कार्कीले जेष्ठ नागरिकमा विभिन्न रोगहरु देखिने संभावना रहेकोले स्वास्थ्य शिविरबाट रोगको पहिचान र आवश्यक उपचार गर्न सहजता दिन शिविर आयोजना भएको भन्दै चाँगु नगरका जेष्ठ नागरिकहरुमा बढी प्रेसर र सुगरको संक्रमण बढी देखिएको उल्लेख गरेका थिए । संक्रमितहरुलाई चाँगु अस्पतालबाट थप उपचारको व्यवस्था गरेको डा. कार्कीले बताउनु भयो ।


सो अवसरमा परियोजनाका संयोजक उमा थापाले नेपालमा मात्र नभई एशियामै पहिलो पटक स्वास्थ्य बुढ्यौलीका लागि सहारा परियोजना भक्तपुरमा सञ्चालनमा आएको चर्चा गर्दै उहाँले यस परियोजनाले जेष्ठ नागरिकको स्वास्थ्य सेवामा पहुँच, जेष्ठ नागरिक मैत्री वातावरण र नीति निर्माण, जेष्ठ नागरिक मैत्रीपूर्ण सकारात्मक व्यवहार ल्याउने उदेश्यका साथ तीन वर्षकालागि यो परियोजना सञ्चालनमा आएको बताए ।














