भक्तपुरमा १९५ जना सहित देशभर थप ४९२९ संक्रमित ३५ जनाको मृत्यु ८८८ कोरोना मुक्त

भक्तपुरमा १९५ जना सहित देशभर थप ४९२९ संक्रमित ३५ जनाको मृत्यु ८८८ कोरोना मुक्त
भक्तपुर, बैशाख १६ गते ।
पछिल्लो २४ घण्टामा भक्तपुरका १९५ जना सहित देशभर ४ हजार ९ सय २९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । १२ हजार ५ सय ९७ पीसीआर परीक्षणमा ४ हजार ८ सय ३१ जना र ९ सय ६३ एन्टिजेन परीक्षणमा ९७ जना गरी ४ हजार ९ सय २९ जना सङ्क्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोरोना सङ्क्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३ हजार २ सय ४६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या भने ८ सय ८८ रहेको मन्त्रालयले जनाएको छ । अहिले देशभर ३४ हजार एक सय १७ जना सक्रिय सङ्क्रमित छन् । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा एक हजार ५ सय ६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँका एक हजार एक सय २७ जना, भक्तपुरका एक सय ९५ जना र ललितपुरका २ सय ५२ जनामा कोरोना सङ्क्रमण देखिएको हो । भक्तपुरमा बिहिबार संक्रमित भएका १ सय ९५ जना मध्ये मध्यपुर थिमी नगरपालिकामा ४१ पुरुष र २८ महिला सहित ६९ जना संक्रमित भएका छन् भने सूर्यविनायक नगरपालिकाका २८ पुरुष र २२ महिला गरी ५० जना संक्रमित भए । भक्तपुर नगरपालिकाका १६ पुरुष र १३ महिला गरी २९ जना तथा चाँगुनारायण नगरपालिकाका १७ जना पुरुष र ९ जना महिला सहित २६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । अन्य सम्पर्क बिहिन २१संक्रमितहरुमा ९ जना पुरुष र १२ जना महिला रहेको समेत स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णवहादुर मिजारले जनाएको छ ।