स्थायी बासको व्यवस्था नभएसम्म बोडे होल्डिङ सेन्टर नछोड्ने १९ परिवारको अडान
भक्तपुर । स्थायी बसोबासको व्यवस्था नभएसम्म बोडेस्थित होल्डिङ सेन्टर नछोड्ने १९ परिवारले अडान लिएका छन् । उनीहरूले आफूहरूलाई बल प्रयोग गरेर हटाउन खोजिए पुनः थापाथली परिसरमै फर्किएर बस्ने र त्यसका लागि ज्यान दिन तथा गोली थाप्न समेत तयार रहेको चेतावनी दिएका छन् ।
होल्डिङ सेन्टरमा आश्रित ती परिवारले वैकल्पिक तथा स्थायी आवासको सुनिश्चितता नगरी उठिबास लगाउन खोजिएको भन्दै आपत्ति जनाएका छन् । स्थायी बासको प्रबन्ध नभएसम्म आफूहरू सुरक्षित रूपमा अन्यत्र जान नसक्ने उनीहरूको भनाइ छ ।
सरोकारवाला निकायबाट स्थायी बसोबासको ठोस पहल नभए चरणबद्ध विरोध तथा कडा संघर्षमा उत्रन बाध्य हुने पीडित परिवारहरूले बताएका छन् । सेन्टरमा रहेकालाई आज विहानबाट खाना समेत नदिएको, बालबालिकाहरुलाई विद्यालय जानबाट समेच बन्चित गरेको आरोप लगाउँदै यो सेन्टरमा रहेका पीडितहरुको मात्र सवाल नभई अव देशभर रहेका ७२ लाख सुकुम्वासीहरुको साझा संकल्प बनेको बताएका छन् ।












