भक्तपुरमा फैसला कार्यान्वयनतर्फका चार फरार प्रतिवादी पक्राउ
भक्तपुर, मंसिर ११ । जिल्ला प्रहरी परिसर भक्तपुरले अदालतको फैसला कार्यान्वयनका क्रममा विभिन्न मुद्दाका चार जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त थिमी, प्रहरी वृत्त जगाती तथा मातहतका प्रहरी इकाइहरूबाट खटिएको टोलीले मंसिर ११ गते उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका सबैलाई आवश्यक कानुनी प्रक्रियाका लागि जिल्ला अदालत भक्तपुरमा बुझाइएको परिसरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) दिपक कुमार कार्कीले जानकारी दिनुभयो।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा चेक अनादर मुद्दाका २ जना, बैंकिङ कसुर मुद्दाका १ जना र सार्वजनिक अपराध मुद्दाका १ जना रहेका छन्।
पक्राउ परेका प्रतिवादीहरूको मुद्दागत विवरण तथा अदालतले तोकेको कैद र जरिवाना यस प्रकार छ :
- चेक अनादर मुद्दा (२ जना) : १ वर्ष कैद, १ हजार ५ सय रुपैयाँ जरिवाना र १० लाख रुपैयाँ बिगो
- बैंकिङ कसुर मुद्दा (१ जना) : ३ लाख ४० हजार रुपैयाँ लगत कट्टा गरिएको
- सार्वजनिक अपराध मुद्दा (१ जना) : २ हजार रुपैयाँ जरिवाना
अदालतको फैसलापछि फरार रहेका चारै जना प्रतिवादीबाट कुल १ वर्ष कैद, ३ हजार ५ सय रुपैयाँ जरिवाना र १३ लाख ४० हजार रुपैयाँ बिगो तथा लगत असुलउपर हुन बाँकी रहेको प्रहरीको प्रेस विज्ञप्तिमा उल्लेख छ।













