भक्तपुरका क्रियाशिल पत्रकारहरलाई मोजो तालिम आयोजना
भक्तपुर, जेष्ठ ८ गते
भक्तपुरका क्रियाशिल पत्रकारहरुलाई नेपाल पत्रकार महासंघ भक्तपुरले एक दिने मोबाईल पत्रकारिता (मोजो) तालिम दिएको छ । सूर्यविनायक नगरपालिकाको आर्थिक सहयोगमा होटल सिटिगाउँको सभा हलमा आयोजित सो तालिमको नगरपालिकाका प्रमुख वासुदेव थापाले बिहिबार पानसमा दिप प्रज्वलन गर्दै उद्घाटन गरेको थियो ।
प्रशिक्षणमा सहभागी पत्रकारहरुलाई नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहालले प्रमाण पत्र वितरण गर्दै एआई बिनाको पत्रकारिता असंभव जस्तै भइसकेको भन्दै एआई पत्रकारिताकालागि पनि आचारसंहिता आवश्यक भएकोमा जोड दिनु भयो । पत्रकारिताको तालिम, अभ्यास मात्र नभई हाम्रो नीति निर्माण, हाम्रो आँचारसहिंता र विकसित प्रविधिहरुमा भक्तपुरका पत्रकारहरुले पनि अबल भूमिका खेल्ने अपेक्षा व्यक्त गर्नु भयोे ।


उद्घाटन शत्रमा सूर्यविनायक नगरपालिकाका प्रमुख थापाले सकारात्मक पत्रकारीतालाई प्राथमिकता दिन मोजो तालिमका लागि आवश्यक खर्च नगरपालिकाले व्यहोर्ने गरी तालिमको आयोजना भएको भन्दै आफु विरुद्ध भ्रामक समाचार सम्प्रेषण गर्नेहरुप्रति गुनासो र आपति जनाए । गलत समाचार र नकारात्मक समाचार लेख्नेलाई के कावाही हुँदैन र ? भन्दै प्रमुख थापाले सूर्यविनायक नगरपालिकाको विकास निर्माण कार्यलाई पत्रकारिता क्षेत्रले सकारात्मक रुपमा लिइदिन आग्रह गरेका थिए । घिसिङ डाडाको प्लटिङमा पनि आफूलाई फसाउन खोजेको, २० करोडको भ्रष्टाचारको आरोप लगाएको भन्दै प्रमुख थापाले सार्वजनिक र बन क्षेत्र अतिक्रमण गर्न नदिने र अनुमति विना प्लतिङ सञ्चालन गर्न पनि नपाउने बताएका थिए । नगर प्रमुख थापाले अबको चुनाबमा आफू प्रदेश सभाको निर्वाचनमा उठ्ने तयारी गर्दैै नगरबासीहरुको सेवामा लागि परेको बताएका थिए । सो अवसरमा सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता भट्टराईले प्रविधि मैत्री पत्रकारिताबाट सूर्यविनायक नगरपालिकाका गतिविधिहरु, विकासनिर्माण, मानविय तथा सामाजिक गतविधिहरुलाई जनता समक्ष पुर्याइदिन पत्रकारहरु समक्ष आग्रह गर्नु भयो ।
पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकारको सभापतित्वमा भएको सो कार्यक्रममा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले डिजिटल पत्रकारिताको विकास र प्रशिक्षणले पत्रकारहरुको क्षमता वृद्धि हुने विश्वास व्यक्त गर्दै नयाँ नयाँ प्रविधिको विकाससँगै व्यवहारमा, कार्यशैलीमा रुपान्तरण गर्न यो तालिम अत्यावश्यक भएको बताउनु भयो । तथ्यहरुलाई विश्लेषण गर्न मोबाइलको उपयोग गर्न सकिने बताउँदै प्रजिअ अर्यालले पत्रकारितालाई व्यवसायिक बनाउन र नागरिकहरुका अपेक्षाहरुलाई सम्बोधन गराउन सो तालिमले टेवा पुग्ने बताएका थिए । फोटो पत्रकार विकास कार्कीले प्रदान गरेको मोजो तालिममा भक्तपुरका ६ दर्जन भन्दाबढी क्रियाशिल पत्रकारहरु सहभागी रहेका थिए । पत्रकारहरुको हात हातमा रहेको मोबाइलबाटै गुणस्तरीय फोटो तथा भिडियो खिचेर कसरी सम्प्रेषण गर्न सकिन्छ भन्ने सवालहरुमा प्रशिक्षक कार्कीले अभिमुखिकरण गरेको थियो ।













