प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै पत्रकार महासंघको दोस्रो चरणको आन्दोलन घोषणा

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै पत्रकार महासंघको दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौँ, १० मङ्सिर । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र श्रम अधिकार सुनिश्चित गर्न दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । पहिलो चरणको आन्दोलन देशव्यापी रूपमा सम्पन्न भए पनि सरकारले माग बेवास्ता गरेको भन्दै महासंघले राजनीतिक दलका कार्यालयमा धर्नासहितका कार्यक्रम सार्वजनिक गरेको हो ।

महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि गरिएको धरपकड, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने मनसायले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास तथा सञ्चारमाध्यममा अवरोध पुर्‍याउनेलाई कारबाही नगरिएकोप्रति आपत्ति जनाइएको छ । साथै गोरखापत्रलगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबरजस्ती निष्कासन गरिएको, श्रम अधिकार उल्लंघन भएको र लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले पाउनुपर्ने रकम प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार उपलब्ध नगराइएको विषयलाई पनि आन्दोलनको कारण देखाइएको छ ।

सरकारमाथि थप दबाब सिर्जना गर्न र संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई मागमा सहमत गराउन घोषित दोस्रो चरणका कार्यक्रमअन्तर्गत बिहान ११ बजेदेखि १२ बजेसम्म धर्ना दिइनेछ । जिल्ला शाखाले जिल्ला समिति, प्रदेश समितिले प्रदेश समिति तथा काठमाडौँ उपत्यकाका जिल्ला शाखा, प्रदेश समिति र केन्द्रीय समितिले केन्द्रीय कार्यालयमा धर्ना दिने कार्यक्रम तय भएको छ ।

घोषित आन्दोलनका कार्यक्रमहरू:

  • मङ्सिर १३ गते: ‘संकटमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता: रास्वपाको सरकारले सुनेन, सत्ताधारी दलले सुनिदेऊ’ भन्ने नारासहित रास्वपा कार्यालयमा १ घण्टा धर्ना
  • मङ्सिर १४ गते: ‘संकटमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता: प्रमुख विपक्षी दल किन मौन ?’ भन्ने नारासहित नेपाली कांग्रेसको कार्यालयमा १ घण्टा धर्ना
  • मङ्सिर १५ गते: ‘संकटमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता: विपक्षी दल किन मौन ?’ भन्ने नारासहित एमाले पार्टी कार्यालयमा १ घण्टा धर्ना
  • मङ्सिर १६ गते: ‘संकटमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता: विपक्षी दल किन मौन ?’ भन्ने नारासहित नेकपा पार्टी कार्यालयमा १ घण्टा धर्ना
  • मङ्सिर १७ गते: ‘संकटमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता: विपक्षी दल किन मौन ?’ भन्ने नारासहित श्रम संस्कृति पार्टी कार्यालयमा १ घण्टा धर्ना
  • मङ्सिर १८ गते: ‘संकटमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता: प्रमुख विपक्षी दल किन मौन ?’ भन्ने नारासहित राष्ट्रिय प्रजातन्त्र पार्टी कार्यालयमा १ घण्टा धर्ना
  • मङ्सिर २० गते: कालो लुगा, कालो पट्टी र कालो मास्क लगाएर काठमाडौँको माइतीघर र जिल्लाका सदरमुकामहरूमा प्रदर्शन

कुनै पनि दलले महासंघको मागप्रति लिखित रूपमा ऐक्यबद्धता जनाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिबद्धता जनाएमा उक्त दलको कार्यालयमा धर्ना नदिइने महासंघले स्पष्ट पारेको छ । माग सम्बोधन नभए तेस्रो चरणको आन्दोलनका कार्यक्रम गरिने विज्ञप्तिमा उल्लेख छ ।