दशौंराष्ट्रियखेलकुदकालागिभक्तपुरका९खोखोखेलाडीसुर्खेतप्रस्थान

दशौं राष्ट्रिय खेलकुदका लागि भक्तपुरका ९ खोखो खेलाडी सुर्खेत प्रस्थान

भक्तपुर । दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन भक्तपुरबाट छनोट भएका ९ जना खोखो खेलाडीलाई आज बिदाइ गरिएको छ ।

भक्तपुर जिल्ला खोखो संघका अध्यक्ष उपेन्द्र सुवालले प्रतियोगिताका लागि छनोट भएका ५ पुरुष र ४ महिला खेलाडीलाई खादा ओढाएर सफलताको शुभकामनासहित बिदाइ गर्नुभएको हो ।

बिदाइ कार्यक्रममा बोल्दै अध्यक्ष सुवालले प्रतियोगितामा उत्कृष्ट र गुणस्तरीय खेल प्रदर्शन गर्दै विजयी भएर फर्कन खेलाडीहरूलाई आग्रह गर्नुभयो । उहाँले खोखो खेलको माध्यमबाट पनि राष्ट्रिय स्तरमा भक्तपुरको पहिचान स्थापित गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

प्रतियोगिताका लागि छनोट हुने पुरुष खेलाडीहरूमा कृतिश सिताकल, प्रनिश मचामसी, उमन सुवाल, सुसान कुसाथा र राज तामाङ रहेका छन् । त्यस्तै, महिलातर्फ मोहनकुमारी श्रेष्ठ, प्रसन्न सुजखु, क्रिजला जरेजु र पूर्णिमा खत्री छनोट भएका छन् ।

बिदाइसँगै खेलाडीहरूको टोली आजै प्रतियोगिता आयोजना स्थल सुर्खेततर्फ प्रस्थान गरेको छ ।