सूर्यविनायक नगरपालिकाद्वारा पूर्व एसएसपी विश्वेश्वर थापालाई अनधिकृत निर्माण कार्य तत्काल रोक्न पुन: ताकेता

सूर्यविनायक नगरपालिकाद्वारा पूर्व एसएसपी विश्वेश्वर थापालाई अनधिकृत निर्माण कार्य तत्काल रोक्न पुन: ताकेता

भक्तपुर, २०८३ कात्तिक २०

सूर्यविनायक नगरपालिकाले वडा नं. ९ स्थित कित्ता नं. १३०२ को जग्गामा मापदण्डविपरीत भइरहेको निर्माण कार्य तत्काल रोक्न निर्देशन दिएको छ। नगरपालिकाले पूर्व प्रहरी उपरीक्षक (एसएसपी) समेत रहेका श्री विश्वेश्वर थापालाई पत्र काट्दै अनधिकृत रूपमा भइरहेको निर्माण कार्य पूर्ण रूपमा बन्द गर्न पुनः ताकेता गरेको हो।

नगरपालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत रत्न बहादुर कटुवालद्वारा हस्ताक्षरित पत्रमा विष्णु हरि लोहला र कृष्ण खत्रीले पेश गरेको निवेदनका आधारमा यसअघि नै निर्माण कार्य रोक्का राखिएको उल्लेख छ। निवेदक विष्णु हरि लोहलाले जग्गा मिचेर टहरा तथा भवन निर्माण गरिएको भन्दै उजुरी दिएपछि नगरपालिकाले २०८३ असोज २७ गते र कात्तिक ८ गते पत्र पठाएर नसा स्वीकृति गरेर मात्र कार्य अगाडि बढाउन सचेत गराएको थियो।

तर, नगरपालिकाको स्पष्ट निर्देशनलाई बेवास्ता गर्दै नियम विपरीत निर्माण कार्य निरन्तर जारी राखिएको भन्दै कात्तिक २० गते पुनः ताकेता पत्र काटिएको हो। प्रचलित स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा भवन निर्माणसम्बन्धी कानुनको उल्लङ्घन गरी बिना स्वीकृति काम नरोकेमा प्रचलित कानुन बमोजिम अनधिकृत संरचना रोक/हटाउन आवश्यक कानुनी कारबाही अगाडि बढाइने र त्यसबाट हुने क्षतिको जिम्मेवार स्वयम् निर्माणकर्ता हुने चेतावनी दिइएको छ।

साथै, यस विषयमा आवश्यक अनुगमन गरी निर्माण कार्य रोक्न वडा कार्यालय र नगर प्रहरी बललाई समेत बोधार्थ पठाइएको छ।