कुम्ह सागर एण्ड खवप ब्याण्डका कलाकारहरूलाई सम्मान
२५ आश्विन, भक्तपुर।
मुक्ति संगीत प्रशिक्षण केन्द्र, भक्तपुरको आयोजनामा सुर्यविनायक नगरपालिका–८, रानीकोटस्थित भिलेज हाइल्याण्ड रिसोर्टमा एक विशेष समारोहका बिच ‘कुम्ह सागर एण्ड खवप ब्याण्ड’का कलाकारहरूलाई सम्मान तथा महाकाली प्याखं (देवी नाच) प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ।
हाम्रो देशको मौलिक कला र संस्कृतिलाई समयको माग तथा युवाहरूको चाहना अनुसार गीत-संगीतको माध्यमबाट अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान, कोरिया लगायतका विभिन्न राष्ट्रहरूमा सफलतापूर्वक प्रस्तुत गर्दै आएकाले ब्याण्डका लोकप्रिय वरिष्ठ कलाकारहरूलाई सम्मान-पत्र तथा प्रमाण-पत्र वितरण गरिएको हो।
सम्मानित हुने कलाकारहरू:
- सिद्धि सागर (कुम्ह सागर) प्रजापति
- रोजमान महर्जन
- अमन माली
- रोशन बज्राचार्य
- सुमन गैडा
- विके प्रजापति
- प्रवीण लाखे
- रोशिक जधारी
- राम सुन्दर धुसु
- शरद देउला
कार्यक्रमका प्रमुख भनाइ तथा अतिथिहरू:
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति माननीय बद्रेश खनालले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। प्रमुख अतिथि खनालले कुम्ह सागर एण्ड खवप ब्याण्डका कलाकारहरूले गीत-संगीतको सुमधुर आवाजका साथै मौलिक कला-संस्कृतिको भावनालाई विश्वभर गुञ्जायमान गराउन सफल भएको भन्दै प्रशंसा गर्नुभयो। महाकाली नाच जस्ता परम्परागत तथा धार्मिक नाच राष्ट्रको सम्पत्ति भएकाले यसलाई जोगाउन नयाँ पुस्ताको ठूलो भूमिका रहने उहाँको भनाइ थियो।
कार्यक्रममा अतिथि नेपाल होटेल संघ, बागमती प्रदेशका अध्यक्ष राम सुन्दर बकेले कला-संस्कृति र कलाकारहरू राष्ट्रका गहना भएको उल्लेख गर्दै यस्ता प्रतिभाहरूलाई राज्यले समयमै पहिचान गरी थप उत्साह दिनुपर्ने विचार व्यक्त गर्नुभयो।
केन्द्रका संस्थापक अध्यक्ष एवं प्रबन्ध निर्देशक मुक्ति सुन्दर जधारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कला-संस्कृतिविज्ञ एवं वरिष्ठ कलाकार गणेशराम लाछी, चर्चित गायक एवं वरिष्ठ कलाकार रोजमान महर्जन, मुक्ति संगीत प्रशिक्षण केन्द्रका सल्लाहाकार सुरज शाक्य र अध्यक्ष रोशिका जधारीले पनि आफ्ना विचार एवं शुभकामना व्यक्त गर्नुभएको थियो।
अन्य प्रस्तुति तथा सम्मान:
सोही अवसरमा गाईजात्रा पर्व २०८३ मा प्रथम हुन सफल कलाकारहरूलाई सिद्धि स्मृति प्रतिष्ठानका संस्थापक श्याम सुन्दर धौभडेल लगायतका अतिथिहरूले प्रमाण-पत्र तथा मायाको चिन्ह वितरण गर्नुभएको थियो। कार्यक्रमको बिच-बिचमा देवी, दैत्य, कवां, ख्याक र सिंह सहितको आकर्षक महाकाली नाच समेत प्रदर्शन गरिएको थियो।











