भक्तपुर दरबार क्षेत्रमा वास्तुकला प्रदर्शनी

भक्तपुर दरबार क्षेत्रमा वास्तुकला प्रदर्शनी

२०८३ असोज २४

भक्तपुर दरबार क्षेत्रमा नेपाली वास्तुविद् समाजको ३६औँ वार्षिक महोत्सवको अवसरमा सार्वजनिक वास्तुकला प्रदर्शनी कार्यक्रम सम्पन्न भयो। प्रदर्शनीमा नेपालका मौलिक वास्तुकला, ऐतिहासिक सम्पदा, परम्परागत बस्ती, विभिन्न जातजातिको पहिचान झल्काउने भौतिक संरचना तथा स्थानविशेषको महत्त्व बोकेका विभिन्न भवन र संरचनासम्बन्धी सामग्री प्रस्तुत गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रदर्शनीको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै विश्व सम्पदा सूचीमा सूचीकृत सहर भक्तपुरमा यस्तो प्रदर्शनी आयोजना हुनु आफैँमा महत्त्वपूर्ण पक्ष भएको बताउनुभयो। उहाँले भक्तपुर आफैँमा इतिहास र संस्कृतिको जीवन्त पहिचान बोकेको सहर भएको उल्लेख गर्दै यहाँका ऐतिहासिक सम्पदाको संरक्षणमा नगरपालिकाले विशेष जोड दिँदै आएको बताउनुभयो।

प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले ख्वप इन्जिनियरिङ कलेजमा वास्तुकला (आर्किटेक्चर) विषयको अध्ययन–अध्यापनको व्यवस्था गरी नयाँ पुस्तालाई मौलिक वास्तुकला र सम्पदा संरक्षणसम्बन्धी ज्ञान प्रदान गर्दै आएको बताउनुभयो। उहाँले २०७२ सालको भूकम्पले भक्तपुरका धेरै ऐतिहासिक सम्पदामा क्षति पुर्‍याएको स्मरण गर्दै नगरपालिकाले स्थानीय जनतासँग हातेमालो गरी क्षतिग्रस्त सम्पदाहरूको मौलिक स्वरूप कायम राख्दै पुनर्निर्माण गरेको जानकारी दिनुभयो। नगरपालिकाले हालसम्म १८५ वटा सम्पदाको पुनर्निर्माण गरेको उल्लेख गर्दै उहाँले सम्पदाको मौलिकता जोगाउनु भावी पुस्ताका लागि इतिहास र पहिचान सुरक्षित गर्नु पनि भएको बताउनुभयो।

कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले वास्तुकलाको विषय देशको इतिहास, संस्कृति र पहिचानसँग प्रत्यक्ष रूपमा जोडिएको बताउनुभयो। उहाँले कलेज तथा विश्वविद्यालयमा सम्पदा र वास्तुकलासम्बन्धी विषयको अध्ययन–अध्यापनको व्यवस्था हुनुले सम्पदा संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्नुभयो। आधुनिक र परम्परागत वास्तुकलाबीचको सम्बन्धबारे अध्ययन तथा अनुसन्धानले नेपाली सम्पदाको विशेषता र महत्त्व उजागर गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो। उहाँले भक्तपुर नगरपालिकाले ऐतिहासिक सम्पदाको संरक्षण, संवर्द्धन तथा पुनर्निर्माणका क्षेत्रमा गर्दै आएका कार्यबारे पनि चर्चा गर्नुभयो।

नेपाली वास्तुविद् समाजका अध्यक्ष ईश्वरलाल जोशीले प्रदर्शनीको उद्देश्य, महत्त्व तथा वार्षिक महोत्सवका अवसरमा आयोजना गरिएका कार्यक्रमबारे जानकारी दिनुभयो। कार्यक्रममा भवन विभागका एकराज अधिकारी तथा सीएनईटीका अध्यक्ष कृष्ण सिंह बस्नेतले पनि वास्तुकला र सम्पदा संरक्षणका विषयमा आ–आफ्ना धारणा राख्नुभएको थियो।

कार्यक्रममा अभिषेक बज्राचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

प्रदर्शनीले नेपाली मौलिक वास्तुकलाको विविधता, ऐतिहासिक सम्पदाको महत्त्व तथा परम्परागत बस्ती र भवनहरूको संरक्षण आवश्यकताबारे सर्वसाधारणलाई जानकारी गराउनुका साथै नेपालको सांस्कृतिक पहिचान संरक्षणमा वास्तुकलाको भूमिकालाई उजागर गरेको छ।