चोरी तथा डाँका गर्ने समूह पक्राउ
भक्तपुर, असोज २२
भक्तपुरको चाँगुनारायण नगरपालिका–२, दुवाकोटमा पसल बन्द गरेर घर फर्किंदै गरेका खाद्य पसल सञ्चालकलाई कुटपिट गरी सुनको सिक्री लुटपाट गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार त्रिपुरा सुन्दरी खाद्य स्टोरका सञ्चालक मिथ बहादुर कार्की पसल बन्द गरी घरतर्फ जाँदै गर्दा मोटरसाइकलमा आएका व्यक्तिहरूले उनलाई कुटपिट गरी उनले लगाएको सुनको सिक्रीसमेत लुटेर फरार भएका थिए।
घटनाबारे सूचना प्राप्त भएपछि प्रहरी वृत्त थिमी, भक्तपुरबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दै २०८३ साल असोज २१ गते चाँगुनारायण नगरपालिका–२, दुवाकोटबाट पाँच जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–१ का २५ वर्षीय सुदीप लामा, ३२ वर्षीय कर्णबहादुर तामाङ, २१ वर्षीय कुमार तामाङ, १९ वर्षीय विजय तामाङ र ३२ वर्षीय केनाम सिंह तामाङ रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट घटनामा प्रयोग भएको आशंकामा दुई वटा मोटरसाइकलसमेत बरामद गरेको जनाएको छ।
बरामद मोटरसाइकल:
- बा ९१ प १२०७ नम्बरको २०० एनएस पल्सर
- प्र.३–०२–००१ प ४६९२ नम्बरको २२० पल्सर
पक्राउ परेका व्यक्तिहरूलाई चोरी तथा डाँका सम्बन्धी कसुरमा २०८३ असोज २२ गते जिल्ला अदालत भक्तपुरमा पेश गरिएको र अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) दीपककुमार कार्कीले जानकारी दिएका छन्।











