त्रिशूली-१ जलविद्युत्को सुरुङबाट निकालिएका २४ शव नुवाकोट ल्याइयो, सनाखतका लागि प्रहरीको अनुरोध
नुवाकोट, ३ असोज। रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण जलविद्युत् आयोजनामा पुगेको क्षतिका क्रममा बेपत्ता भएका २४ जनाको शव नुवाकोट ल्याइएको छ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटले आज (असोज ३ गते) एक प्रेस विज्ञप्ति जारी गर्दै बाढीका कारण रसुवाको आमाछोदिङ्मो गाउँपालिका वडा नं. १ (हाकु) स्थित २१६ मेगावाट क्षमताको त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङबाट निकालिएका शवहरू नुवाकोट पुर्याइएको जनाएको छ।

प्रहरीका अनुसार असोज १ र २ गते गरी सुरुङबाट कुल २४ वटा शव निकालिएको थियो। ती शवहरूलाई असोज ३ गते दिउँसो नेपाली सेनाको हेलिकप्टरमार्फत एयरलिफ्ट गरी नुवाकोटको विदुर नगरपालिका वडा नं. ६ स्थित केन्द्रीय कारागार कार्यालय, खम्बाक्याम्प परिसरमा ल्याइएको छ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटले मृतकका परिवार तथा आफन्तजनहरूलाई खम्बाक्याम्प परिसरमा आई शवको पहिचान तथा सनाखत गर्ने/गराउने कार्यमा सहयोग गरिदिन अनुरोध गरेको छ।
साथै, शव सनाखत, आवश्यक सहयोग तथा समन्वयका लागि प्रहरी निरीक्षक (प्र.नि.) आशिष साहलाई मोबाइल नम्बर ९८५५०९१७५७ मा सम्पर्क गर्न सकिने जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) इकबाल हवारीले जानकारी दिनुभएको छ।














