विपद् उद्धारका लागि जिल्ला प्रशासन कार्यालय भक्तपुरद्वारा सुरक्षा निकायलाई ९ लाख बराबरका उपकरण वितरण
भक्तपुर
विपद्पछिको उद्धार तथा प्रतिकार्यलाई थप प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय भक्तपुरले जिल्लास्थित सुरक्षा निकायहरूलाई उद्धार सामग्री तथा उपकरणहरू वितरण गरेको छ।
गृह मन्त्रालयबाट प्राप्त कुल रु. ९ लाख बराबरका ती सामग्रीहरू आज जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा आयोजित एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले हस्तान्तरण गर्नुभयो। हस्तान्तरण गरिएका उपकरणहरूमा फलाम, ढलान तथा काठ काट्ने मेसिनहरू, पानीमा लगाउने सुरक्षा ज्याकेट (लाइफ ज्याकेट), र पानीमा तैरिन प्रयोग हुने ट्युब लगायतका सामग्रीहरू रहेका छन्।



उक्त सामग्रीहरू नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल भक्तपुरका प्रमुखहरूलाई बराबर रूपमा हस्तान्तरण गरिएको हो।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जिल्लामा हुन सक्ने सम्भावित विपद्का घटनाहरूको पूर्वतयारी, प्रतिकार्य र प्रत्यक्ष उद्धार कार्यमा खटिने सुरक्षा निकायलाई बलियो बनाउन यी सामग्रीहरू वितरण गरिएको बताउनुभयो। प्राप्त उपकरणहरूले विपद् व्यवस्थापन र उद्धार कार्यलाई थप सहज, छिटो र प्रभावकारी बनाउने विश्वास उहाँले व्यक्त गर्नुभयो।














