समाचार कक्षमा प्रहरी आतंक बन्द गर्न महासंघको माग, कडा आन्दोलनको चेतावनी

समाचार कक्षमा प्रहरी आतंक बन्द गर्न महासंघको माग, कडा आन्दोलनको चेतावनी

काठमाडौं, १३ कार्तिक — नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गर्ने तथा सञ्चारगृहमा धरपकड गर्ने कार्यप्रति कडा आपत्ति जनाउँदै भर्त्सना गरेको छ। समितिले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रहरीको यस्तो कार्यलाई स्वेच्छाचारी, निरंकुश र प्रेस स्वतन्त्रतामाथिको ठाडो हमला भनेको छ।

नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्यूजका शोभराज बराल र डीएनए खबरका प्रधान सम्पादक धिरज बस्नेतलाई पक्राउ गरिएको तथा नयाँ पत्रिका दैनिकका पत्रकार नवराज मैनाली र दियोपोस्टका पत्रकार सुदीप विश्वकर्मामाथि प्रहरी निगरानी बढाइएको घटनाले राज्यको दमनकारी मनसाय प्रस्ट पारेको महासंघले जनाएको छ।

प्रकाशित समाचारप्रति कुनै असहमति भए कानुनी बाटो वा प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारमार्फत समाधान खोज्नुपर्नेमा प्रहरी शक्तिको प्रयोग गरी सञ्चारगृहमा आतंक फैलाउनु संविधानप्रदत्त मौलिक हकको गम्भीर उल्लङ्घन भएको विज्ञप्तिमा उल्लेख छ।

महासंघले पत्रकारमाथिको धरपकड तत्काल रोक्न, दोषी प्रहरी अधिकारीमाथि कारबाही गर्न र पत्रकारको पेसागत सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग जोडदार माग गरेको छ। प्रहरीको बुटले प्रेस स्वतन्त्रता कुल्चिने प्रयास तत्काल बन्द नभए महासंघ सशक्त आन्दोलनमा उत्रन बाध्य हुने र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवारी सरकार तथा प्रहरी प्रशासनले नै लिनुपर्ने चेतावनीसमेत दिइएको छ।