बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी पक्राउ

बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी पक्राउ
भक्तपुर, असोज ११। बाल यौन दुरुपयोग मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई जिल्ला प्रहरी परिसर भक्तपुरले पक्राउ गरी कारागार चलान गरेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार बाल यौन दुरुपयोगसम्बन्धी मुद्दामा जिल्ला अदालत ओखलढुङ्गाबाट एक वर्ष एक महिना कैद र २० हजार रुपैयाँ जरिवानाको फैसला भएका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार चम्पादेवी गाउँपालिका–६, ओखलढुङ्गाका स्थायी बासिन्दा रहेका प्रतिवादी हाल भक्तपुरको चाँगुनारायण नगरपालिका–२, सरस्वतीखोलामा बस्दै आएका थिए।
प्रहरीले उनलाई २०८३ असोज ११ गते पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरेर जिल्ला अदालतमा पेस गरेको थियो। अदालतको आदेशअनुसार उनलाई कैद भुक्तानका लागि कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौं पठाइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरले अदालतबाट फैसला भई फरार रहेका प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ।