२०७२ सालको महाभूकम्प गएको ५ औं वर्ष , सदाचारको लागि निरन्तर टिआइ नेपाल

काठमाण्डौ, बैशाख १२ गते

पुनर्निर्माण र पुनःस्थापनामा सदाचार अपनाऔ, विपद् व्यवस्थापनमा ध्यान दिऔ भन्दै ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले  ‘भूकम्पपछिको पुनर्निर्माण र पुनःस्थापनामा सदाचार’ कार्यक्रम मार्फत् नीति–निर्माण, योजना कार्यान्वयन र अनुगमनमा सहकार्य गर्दै आएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपाल यो अभियानमा २०७३ सालदेखि सकृय रहेको हो । वि.सं. २०७२ सालको भूकम्पबाट बढी प्रभावित १४ जिल्लामा सरकार, स्थानीय निकाय र साझेदारहरुबाट भएका पुनर्निर्माण र पुनःस्थापनाका कार्यमा जवाफदेहीता, पारदर्शिता र गुणस्तर कायम गर्न संस्था बिगत ४ बर्ष देखी सदाचार अभियानमा लागि रहेको हो । यस अवधिमा पुनर्निर्माणसम्बन्धी सरकारी नीति र कायक्रममा पारदर्शिता बढाउन, शैक्षिक संस्थाको पुनर्निर्माण समयमै र गुणस्तरीय रुपमा सम्पन्न गर्न, पुनर्निर्माणसम्बन्धी सार्वजनिक खरिद पारदर्शी/जवाफदेही बनाउन प्रयास गर्न, पुनर्निर्माणको कार्यमा नागरिक समाजको संलग्नता र चासो बढाउन, सञ्चारक्षेत्रको सहयोग लिई पुनर्निर्माणसम्बन्धी सूचना सम्प्रेषण गर्न, पुनर्निर्माणसम्बन्धी वित्तीय प्रतिवेदनमा नागरिक पहुँच बढाउन, व्यावसायिक र नागरिक संघ–संस्थाको पुनर्निर्माणसम्बन्धी प्रयासहरु पारदर्शी बनाउन, पुनर्निर्माण कार्यसम्बन्धी सेवा प्रवाहमा युवा र विद्यार्थीको संलग्नता बढाउन, पुननिर्माण कार्यको गुणस्तर मापन गर्न सहकार्य गर्न, भूकम्प पीडितको गुनासो संकलन र सम्बोधन सहजीकरण गर्नमा उलेख्य भूमिका खेलेको जानेको छ ।


राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार ४ लाख ९४ हजार ४४ लाभग्राहीको निजी आवास पुनर्निर्माण सम्पन्न भएको छ । थप १ लाख ९० हजार १ सय ४५ आवास पुनर्निर्माणको चरणमा रहेको र अन्तिम किस्ता भुक्तानीका लागि ५ लाख ६१ हजार ६ सय ५० प्रमाणीकरण गरिएकोछ । निजी आवास पुनर्निर्माणका क्रममा करिव ५ लाख गुनासो सम्बोधन भएको छ । यस्तै भूकम्पबाट क्षतिग्रस्त कुल ७ हजार ५ सय ५३ विद्यालयमध्ये ५ हजार ५ सय ९८ विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ । १ हजार ४ सय ९२ विद्यालय पुनर्निर्माणको क्रममा छन् । ९ सय २० वटा सम्पदामध्ये ४ सय २ वटा सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ भने १ सय ४१ वटा सम्पदा पुनर्निर्माणको चरणमा छन् । १ हजार १ सय ९७ वटा क्षतिग्रस्त स्वास्थ्य संस्थामध्ये ६ सय ६९ वटाको पुनर्निर्माण सकिएको छ भने १ सय ४५ वटा पुनर्निर्माणको चरणमा छन् । ४ सय १५ सरकारी भवनमध्ये ३ सय ४९ वटा सरकारी भवनको पुनर्निर्माण सम्पन्न भइसकेको छ । ४९ वटा पुनर्निर्माणको चरणमा छन् । सुरक्षा निकायका १ सय ९४ वटा संरचनाको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने २२ वटा पुनर्निर्माणको चरणमा छन् ।

असुरक्षित स्थानमा रहेका लाभग्राहीमध्ये ४ हजार २ सय ४ लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गा व्यवस्था मिलाइएको र ८ हजार ७ सय ४४ भूमिहीन तथा सुकुमबासी लाभग्राहीलाई जग्गा खरिद र अन्य वैकल्पिक व्यवस्थाद्वारा जग्गा उपलब्ध गराई निजी आवास पुनर्निर्माण गर्ने वातावरण मिलाइएको छ । ४३ वटा एकीकृत बस्तीको योजना स्वीकृत भएको छ भने ९ वटा एकीकृत बस्तीको पुनर्निर्माण सम्पन्न भइसकेको छ । २७ वटा निर्माणाधीन छन् । विभिन्न जिल्लामा ७ सय ६२ कि.मि. सडक पुनर्निर्माण गर्नुपर्नेमा ४ सय ४३ कि.मि. सडकको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने बाँकी ३ सय १९ कि.मि. सडकको पुनर्निर्माण अन्तिम चरणमा छ । १ हजार वटा खानेपानी योजना सम्पन्न भएका छन् भने १ सय वटा खानेपानी योजना कार्यान्वयनका चरणमा छन् ।

प्राधिकरणका अनुसार पुनर्निर्माणका क्रममा हालसम्म सरकार र दातृ निकायबाट ३ खर्ब ९ अर्ब रुपियाँ र गैरसरकारी संस्थामार्फत ७२ अर्ब रुपियाँ गरी ३ खर्ब ८१ अर्ब रुपियाँ खर्च भएको छ ।

प्राधिकरणका अनुसार कोभिड-१९ अर्थात कोरोना भाइरसको महामारीले विश्वव्यापीरूपमा प्रभाव पारेको र नेपालमा पनि १ महिनादेखि लकडाउन जारी रहेकोले गर्दा पुनर्निर्माणका कार्यमा असर परेकोमा स्थिति सहज हुनासाथ पूर्ववत् अवस्थामा नै पुनर्निर्माणका कार्य हुनेछन् । कोरोनाले पारेको प्रभावले पुनर्निर्माण र पुनर्स्थापनाका बाँकी काम सम्पन्न गर्न चुनौती थपिदिएको छ ।