एसिया प्रशान्त क्षेत्रका प्रसारकहरूको विशेष क्षेत्रीय कार्यशाला काठमाडौँमा आजदेखि सुरु

एसिया प्रशान्त क्षेत्रका प्रसारकहरूको विशेष क्षेत्रीय कार्यशाला काठमाडौँमा आजदेखि सुरु

काठमाडौँ । एसिया प्रशान्त क्षेत्रका प्रसारकहरूको विशेष क्षेत्रीय कार्यशाला काठमाडौँमा आजदेखि सुरु भएको छ। सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको सहआयोजनामा सुरु भएको कार्यशालाको मुख्य आयोजक एसिया प्यासिफिक इन्स्टिच्युट फर ब्रोडकास्टिङ डेभलपमेन्ट (एआईबीडी)रहेको छ ।  

कार्यशालाको उद्घाटन सत्रमा बोल्दै युनेस्कोका आवासीय प्रतिनिधि याकुब अल हिल्लोले युनेस्को र एआईबीडीबीचको ५० वर्ष लामो सहकार्यको चर्चा गर्दै उहाँले सूचनालाई ‘सार्वजनिक सम्पत्ति’ मान्नुपर्नेमा विशेष जोड दिनुभयो ।

“भरपर्दो सूचनाले नै मानिसहरूलाई सही निर्णय लिन, सार्वजनिक जीवनमा सहभागी हुन र आफ्ना अधिकारहरूको प्रयोग गर्न सक्षम बनाउँछ,” हिल्लोले भन्नुभयो, “त्यसैले पत्रकार र प्रसारकहरूले नागरिकको सेवालाई केन्द्रमा राख्नुपर्छ।”  पछिल्लो समय पत्रकारहरूले भोग्नुपरेका चुनौतीहरूबारे पनि चर्चा गर्दै हिल्लोले भन्नुभयो, ” पहिले शारीरिक खतरा मात्र पत्रकारलाई हुन्थ्यो भने अहिले अनलाइन उत्पीडन, गलत सूचना र आर्थिक दबाब जस्ता चुनौतीहरू थपिएका छन्।”  

उहाँले प्रविधिको विकाससँगै प्रसारणलाई डिजिटल प्लेटफर्म, पोडकास्ट र एआईसँग जोड्नुपर्ने सुझाव दिनुभयो। “एआईले अनुसन्धान, अनुवाद र तथ्य जाँचमा पत्रकारहरूलाई सहयोग गर्न सक्छ तर मानवीय पक्ष र सम्पादकीय जिम्मेवारीलाई भूल्नु हुँदैन,” उहाँको तर्क थियो।  

कार्यक्रममा एआईबीडीका सीईओ फिलोमेना न्यानाप्रगासमले सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) को सक्रियता बिना सम्मेलन र कार्यशाला गर्न सम्भव नहुने भन्दै अकोराब अध्यक्ष अर्जुन गिरीलगायत अकोराब परिवारलाई धन्यवाद दिनुभयो ।  

प्रविधिमा आएको परिवर्तन र डिजिटल रूपान्तरणले विश्वभर इन्टरनेट प्रयोगमा वृद्धि ल्याएको उल्लेख गर्दै उहाँले एआई र डिजिटल रूपान्तरणको युगमा सुरक्षित र समावेशी समाज निर्माणका लागि सञ्चारमाध्यमकको भूमिका महत्वपूर्ण हुने धारणा फिलोमेनाको छ ।  

एआईको उपयोग र यसका चुनौतीको सामना गर्ने बारेमा पनि यो कार्यशालाले सहयोगी भूमिका खेल्ने उल्लेख गर्दै उहाँले जिम्मेवार रूपमा एआईको कसरी प्रयोग गर्ने भन्ने विषयमा पनि दुई दिन छलफल हुने विश्वास व्यक्त गर्नुभयो।  

बालबालिकाका लागि सुरक्षित डिजिटल वातावरण कसरी निर्माण गर्ने भन्ने बारेमा पनि काठमाडौँमा हुने छलफलले निष्कर्ष निकाल्ने र यसैले सबै प्रसारणकर्मीलाई सजिलो हुने बताउनुभयो ।    

कार्यक्रमा अकोराबका निर्देशक शिरोमणि ढुङ्गानाले कतिपयले प्रसारण सञ्चारमाध्यमको युग सकिन लागेको भनी चर्चा गर्ने गरे पनि अस्वीकार गर्दै भन्नुभयो, “प्रसारण मिडिया अप्रासङ्गिक भएको छैन, बरु यसको स्वरूप विस्तार भएको छ। म पोडकास्टलाई रेडियोकै एउटा विस्तारित रूप र युट्युबलाई टेलिभिजनकै एउटा नयाँ आयामका रूपमा बुझ्छु।”  निर्देशक ढुङ्गानाले थप्नुभयो, “प्रविधि बदलिए पनि सञ्चारमाध्यमको मुख्य धर्म फेरिएको छैन। समुदायलाई सशक्त बनाउने, आवाजविहीनहरूको आवाज बन्ने र नागरिकको सूचनाको आवश्यकता पूरा गर्ने कार्यमा रेडियो अझै पनि उत्तिकै सान्दर्भिक छ ।”  

उहाँले यो कार्यशाला ‘दक्षिण-दक्षिण सहयोग’ को एउटा उत्कृष्ट उदाहरण भएको र यसले एसिया प्रशान्त क्षेत्रका सञ्चारमाध्यमबीचको सम्बन्ध अझ बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो।  

कार्यशालामा आगामी दिनहरूमा एआईको प्रयोग, तथ्य जाँच, सञ्चार नैतिकता र डिजिटल सुरक्षालगायतका विषयमा छलफल हुनेछ।

कार्यशालाको पहिलो दिन संसदलाई पारदर्शी, खुलापन र जनसहभागिता बढाउन सञ्चारमाध्यमको भूमिका, समाचारमा तथ्य जाँच र यसका लागि एआईको उपयोग, बालबालिकाको डिजिटल सुरक्षा र अनलाइन दुरुपयोग रोक्न सञ्चारमाध्यमको भूमिका र बाल पोषणमा सञ्चारमाध्यमको भूमिका विषयमा सरोकारवालाका प्रतिनिधिबीच छुट्टाछुट्टै छलफल भएको छ ।  

एसिया–प्रशान्त क्षेत्रका ३० भन्दा बढी देशका करिब २०० प्रसारणकर्मी तथा सञ्चार क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहने उक्त अन्तर्राष्ट्रिय कार्यक्रम नेपालमा पहिलोपटक आयोजना गरिएको हो ।