भक्तपुर काण्ड संस्मरण भाग ३ सार्वजनिक
भक्तपुर, भाद्र ९ गते
नेपाल क्रान्तिकारी महिला संघले भक्तपुर काण्ड संस्मरण भाग ३ सार्वजनिक गरेको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेंले मंगलबार ख्वप इन्जिनियरिङ कलेजको सभाहलमा आयोजित विशेष कार्यक्रम बीच सो पुस्तक सार्वजनिक गर्नु भएको हो । २०४५ सालको भक्तपुर काण्ड बारे विभिन्न व्यक्तिहरुको संस्मरणलाई संग्रहित गर्दै सो पुस्तक सार्वजनिक भएको हो ।
२०४५ सालको भक्तपुर काण्ड राज्यस्तरबाट रचित षड्यन्त्रको रुपमा सो पुस्तकलाई प्रस्तुत गरिएको छ । पुस्तकमा अध्यक्ष विजुक्छेद्वारा लिखित भक्तपुर काण्डको रहस्यबारे जनता सचेत हुनैपर्छ, नेमकिपा सचिव प्रेम सुवालद्वारा लिखित भक्तपुर काण्ड पञ्चायती सरकारको दिउँसै रात पर्ने षड्यन्त्र, नेमकिपा काभ्रेका अध्यक्ष कृष्णकुमार बैद्यको भक्तपुर काण्ड, निरंकुश सत्ताको प्रतिशोध लेखहरु प्रकासित छन् । यसै गरी नर्मा गुरुङको भक्तपुर काण्ड जनताका हितमा काम गर्ने विरुद्ध षड्यन्त्र, नारायण महर्जनको काण्ड भक्तपुरमा, धरकपकड काठमाण्डौमा, सरोजराज गोसाईको ती काला दिन सम्झँदा, योगेन्द्रमा विजुक्छेंको भक्तपुर काण्डलाई केही सम्झना प्रकासित छन् । यसै गरी नारायणदेवी सुवालको लोग्ने समान्त नसकिए श्रीमतीलाई, नक्कली बासुकलाको होसियार भइरहनुपर्छ, कृष्णमाया लवजुको तर विश्वास डगमगाएन, मैयाँ दुवालको प्रहरी अत्याचारको विरोध गर्न थाल्यौं, सीताराम कुम्पाखको २०४५ मा लोकमत बुझ्दै जाँदा, पञ्चलक्ष्मी दुवालको भाद्र ९ कालो दिन, कृष्णकुमारी आलुबन्जारको षड्यन्त्रविरुद्ध हामी निरन्तर संघर्षमा थियौं, राजुभाई आमात्यको भक्तपुर काण्ड मेरो अनुभवहरु प्रकासित छन् ।

यी लेखहरुले आज भन्दा ३८ वर्ष अघि २०४५ सालमा निरंकुश पञ्चायती राज्यस्तरबाट भक्तपुर काण्डको षड्यन्त्र रचिएको कुरा थप प्रमाणित र पुष्टि गरेको छ । सो पुस्तकमा प्रकासित लेखहरुले तत्कालिन नेपाल मजदुर किसान संगठनले गरेको देश र जनताको निःस्वार्थ सेवाबाट तर्सिएर निरंकुश पञ्चायती व्यवस्थाले उक्त षड्यन्त्र रचेको हो, जुन षड्यन्त्रमा राज्यले भक्तपुरका निर्दोष तथा सोझा सिदा जनतामाथि निर्मम र बर्बर दमन गरेको थियो, प्रकाशकीयमा उल्लेख छ ।
हरेक वर्ष भाद्र महिनाको सुरु देखि भक्तपुर काण्डको भत्सना र विरोध गर्दै यस्को स्मरणार्थ नयाँ पुस्तामा सचेतना दिनकालागि पनि नेपाल मजदुर किसान पार्टी र यसका वर्गिय संगठनहरुले विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । यसै सन्र्दभमा मंगलबार नेक्रामसंघ भक्तपुरले भक्तपुर काण्डलाई पञ्चायती राज्यबाट रचित षड्यन्त्रको रुपमा त्यसको विरोध तथा भत्सना गर्दै भाद्र ९ गतेलाई कालो दिनको रुपमा मनाउँदै आएको छ।
नेपाल मजदुर किसान पार्टीविरुद्धको त्यस षड्यन्त्रको पीडा भुक्तभोगीहरुमा अझै बल्झिने र चहर्याउने र्गछ । हरेक भदौ ९ गतेले त्यस षड्यन्त्र विरुद्धको आक्रोश र संघर्षको स्मरण गराउँछ । भुत्तभोगीहरुको पीडामा मलम लगाउने र शोषण, अन्याय एवं अत्याचारविरुद्धको संघर्षलाई निरन्तरता दिने उदेश्यले भक्तपुर काण्डका पीडित एवं भुत्तभोगीहरुका संस्मरणहरु निरन्तर प्रकाशित हुुदै आएका छन् । यसै सिलसिलमा २०६८ सालमा मजदुर दैनिकले प्रकाशन गरेको भक्तपुर काण्ड विशेषाङ्क र नेपाल क्रान्तिकारी महिला संघले आफ्नो मुखपत्र केटीहरुमा प्रकाशित गरेका संस्मरणहरुलाई पुस्तकारको रुपमा भाग ३ प्रकाशित गरेको छ । यस अघि भक्तपुर काण्डका संस्मरणहरुका सङ्गालोको रुपमा २ वटा प्ुस्तक प्रकाशित भइरसकेका नेक्रामसंघले जनाएको छ ।
पञ्चायती, राज्यस्तरबाट रचित षड्यन्त्रमा फसाइएका नेता तथा कार्यकर्ता एवं परिवारका पीडित सदस्यहरुको संस्मरण तथा भुक्तभोगीहरुका भावनाहरु पढ्दा सुन्दा दोस्रो विश्वयुद्ध हुने बेला इटालीमा मुसोलिनीले त्यहाँका वामपन्थीहरु र प्रजातन्त्रवादीहरुलाई छानी छानी घर घरमा छापा मारी अनेक यातना दिएर कारागारहरुमा कोचेको कथा सुनेको अनुभव पाठकहरुलाई हुने छ । पुस्तकमा लेखिएको छ।
सो कार्यक्रममा अध्यक्ष विजुक्छे सहित बागमति प्रदेशका सांसद सुरेन्द्रराज गोसाई, सृजना सैंजू, भक्तपुर नगरपालिकाका जनप्रतिनिधी योगेन्द्रमा विजुक्छें, रोशनमैया सुवाल सहितका अतिथिहरुले भक्तपुर काण्ड बारे आआफ्नो अनुभव र धारणाहरु प्रस्तुत गरेका थिए ।














