प्रसारणलाई विश्वसनीय र नागरिकमैत्री बनाउन सञ्चारमन्त्री तिमिल्सिनाको आग्रह

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री डा विक्रम तिमल्सीनाले प्रसारण क्षेत्रले बदलिँदो प्रविधिसँगै आफूलाई रूपान्तरण गर्दै विश्वसनीयता, सार्वजनिक उत्तरदायित्व, समावेशिता र नागरिकको पहुँचलाई केन्द्रमा राख्नुपर्ने बताउनुभएको छ । 

सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालको सहआयोजनामा एसिया–प्रशान्त प्रसारण विकास संस्था (एआईबीडी) को २४औँ साधारण सभा तथा एसिया–प्रशान्त क्षेत्रीय मिडिया कार्यशालाको उद्घाटन समारोहलाई आज काठमाडौँमा सम्बोधन गर्दै मन्त्री तिमल्सीनाले अबको प्रसारणलाई परम्परागत माध्यम र शैलीमा मात्रै सीमित नगर्न अनुरोध गर्नुभयो । 

डिजिटल प्रविधि, मोबाइल, इन्टरनेट, सामाजिक सञ्जाल, स्ट्रिमिङ, पोडकास्ट, कृत्रिम बौद्धिकता तथा तथ्याङ्कमा–आधारित सञ्चारले प्रसारणको स्वरूप नै परिवर्तन गरिरहेको उहाँले बताउनुभयो । 

IMG_0833-1787659734.JPG
मन्त्री तिमल्सीनाले नेपालको सामुदायिक रेडियो अभ्यासलाई नेपालको प्रसारण क्षेत्रको विशिष्ट उपलब्धिका रूपमा चित्रण गर्दै सामुदायिक रेडियोहरू केवल रेडियो स्टेशन नभई समुदायका आवाज, स्थानीय लोकतन्त्रका संवाहक र नागरिकका साझा सम्पत्ति भएको धारणा राख्नुभयो । 

“स्थापनाकालदेखि नै सामुदायिक रेडियोले राजनीतिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनका विभिन्न चरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।” मन्त्री तिमिल्सिनाले थप्नुभयो । 

एसिया–प्रशान्त प्रसारण विकास संस्था एआईबिडीका महासचिव फिलोमिना प्रागसमले सामुदायिक रेडियो प्रसारक संघले नेपालमा एसिया–प्रशान्त प्रसारण विकास संस्थाको २४ औँ साधारण सभा तथा एसिया–प्रशान्त क्षेत्रीय मिडिया कार्यशाला गर्ने नेतृत्व लिएर नेपालका प्रसारकहरु अझै सशक्त भएको उदाहरण प्रस्तुत गरेको बताउनुभयो । 

IMG_0732-1787659786.JPG
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव गोलाम सरवारले सार्क मुलुकमा नेपालको प्रसारण  सामुदायिक रेडियो प्रसारणका कारण अझै पनि महत्वपूर्ण भएको बताउनुभयो । 

सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब)  नेपालका अध्यक्ष अर्जुन गिरीले अकोराबलाई बिश्वास गरेर एआईबीडिले यो सम्मेलन र कार्यशाला गर्नका लागि महत्वपूर्ण जिम्मेवारी दिएकोमा खुसी व्यक्त गर्नुभयो । 

Arjun-Giri--1787659810.JPG
सार्वजनिक सेवा प्रसारण (पीएसबी) का कार्यकारी अध्यक्ष उर्वशी बस्नेतले प्रसारण जगतमा देखिएका चुनौतीको सामना र एकअर्काबीचको संवाद र सहकार्यका लागि पनि एआईबीडीको साधारण सभा तथा कार्यशालाले सहयोग पुर्‍याएको उल्लेख गर्नुभयो ।