चाँंगुनारायण, भक्तपुर, असार १२
चाँगुनारायण नगरपालिकाले डेंगी रोग रोकथाम र नियन्त्रणकालाको बढ्दो जोखिमलाई मध्यनजर गर्दै नगरस्तरीय जनप्रतिनिधि तथा सरोकारवालाहरूका लागि डेंगी रोग नियन्त्रण तथा रोकथाम सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत मोहनकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
नगरपालिकाको आधारभूत स्वास्थ्य सेवा शाखाको आयोजनामा खरिपाटीस्थित चाँगुनारायण हलमा सम्पन्न कार्यक्रममा नगरका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा डेंगी रोगको संक्रमण अवस्था, लामखुट्टेको प्रजनन नियन्त्रण, रोगको पहिचान, समयमै उपचार तथा समुदायस्तरमा अपनाउनुपर्ने रोकथामका उपायबारे जानकारी गराइएको थियो । सहभागीहरूलाई आफ्ना वडा तथा समुदायमा जनचेतना अभिवृद्धि गर्दै लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान सञ्चालन गर्न आग्रह गरिएको थियो ।

कार्यक्रम जनस्वास्थ्य कार्यालय भक्तmपुुरका अधिकृत दीपक अच्छामीले प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा चाँंगुनारायण नगर अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा अर्जुन कार्कीले डेंगु रोगबारे जानकारी गराएका थिए ।
नगरपालिकाले वर्षायामसँगै डेंगी संक्रमणको जोखिम बढ्ने भएकाले समयमै सचेतना, सरसफाइ र सामुदायिक सहभागितामार्फत रोग नियन्त्रणमा जोड दिएको जनाएको छ । जनप्रतिनिधिहरूले आफ्नो क्षेत्रका नागरिकलाई सचेत गराउने, घर–घरमा पानी जम्न नदिने तथा वातावरण सफा राख्न प्रेरित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
चाँगुनारायण नगरपालिकाले यसअघि पनि स्वास्थ्य तथा विपद् व्यवस्थापनसँग सम्बन्धित विभिन्न अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै आएको छ नगरपालिकाको स्वास्थ्य प्रमुख दिलकुमार दुवालले बताए ।














