रास्वपा मध्यपुरकाे प्रखर भाषण कला प्रशिक्षण कार्यक्रम सम्पन्न केके मानन्धर, माघ १३ गते राष्ट्रिय स्वतन्त्र पार्टी भक्तपुरका स्थानिय नेता तथा कार्यकर्ताहरुलाई लक्षित गरी एक हप्ते प्रखर भाषण कला तथा उद्घाेषण प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । रास्वपा मध्यपुर थिमि नगर समितिले सिलसिला मिलाएर बोल्ने र अाैपचारिक कार्यक्रम सञ्चालन गर्ने शैलीको प्रशिक्षण दिइएको हो । प्रशिक्षण समापन कार्यक्रमलाई सम्बोधन गर्दै संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाका माननीय सांसद सन्ताेष परियारले भाषा, अभिव्यक्ति र सञ्चारकाे माध्यमले अामनागरिकमा चेतनाको विकास गर्नुपर्नेमा जोड दिए । बाेलीसँगै काम पनि देखाउनुपर्ने भन्दै उहाँले समाज परिवर्तनको लागि नेतृत्व इमान्दार हुनुपर्ने बताए । ‘बाेल्न अध्ययन गर्नुपर्छ । जति धेरै स्टाेर गरिन्छ, त्यति नै अभिव्यक्त गर्न सकिन्छ ।


अध्ययन गरे बमाेजिम अभिव्यक्त गर्न सकिने हुन्छ । विज्ञानले पनि यहि भन्छ ।’ सांसद परियारको भनाई थियो । त्यस्तै, रास्वपा मध्यपुर थिमि नगर समितिका सभापति न्हुछेरत्न मानन्धरले युवाहरुको राजनीतिक चेतनास्तर विकास भए मात्र नेतृत्वलाई सचेत र खबरदारी गराउन सकिने बताए । सहि नेतृत्व अभावले नेपाल पछि परेको बताउँदै अब युवा जनशक्तिको सामथ्र्यले देश विकास गर्नुपर्ने तर्क अघि सारे । सिबर्ड कलेजकाे सभाहलमा प्रत्येक साँझ दुई घण्टाकाे दरले सात दिनसम्म दिइएको प्रशिक्षणलाई एक समारोहकाबीच समापन गरिएको छ । स्मृति भट्टराईकाे संयोजनमा सञ्चारकर्मी केके मानन्धर र जेसीआई ट्रेनर रश्मी शिल्पकारद्वयले दिएको प्रशिक्षणकाे समापन कार्यक्रमलाई मुरारी नेपालले अाकर्षक ढंगले सञ्चालन गरेका थिए । प्रशिक्षण कार्यक्रममा भक्तपुर नगर, सूर्यविनायक, चाँगुनारायण र मध्यपुर थिमि नगरका नेता तथा कार्यकर्ताहरूकाे सहभागिता थियो ।














