विराट नेपालभाषा साहित्य सम्मेलन गुथीले गर्याे ३ स्रष्टाका ३ फरक कृति सार्वजनिक

विराट नेपालभाषा साहित्य सम्मेलन गुथीले गर्याे ३ स्रष्टाका ३ फरक कृति सार्वजनिक
– राजुराम मुनंकर्मी
भक्तपुर,
विराट नेपाल भाषा साहित्य सम्मेलन गुथि, भक्तपुरकाे आफ्नै प्रकाशन रहेकाे ३ स्रष्टाका ३ फरक कृतिहरू एक समाराेहका बीच भक्तपुरकाे जि.स. स. सभाकक्षमा सार्वजनिकिकरण गरेकाे छ । सार्वजनिक गरिएका नेपालभाषामा लेखिएका कृतिहरूमा स्रष्टाहरू क्रमश: त्रिरत्न शाक्यकाे ” न्हयाेलं पाचिने मफुगु विश्वास” (कवितासङ्ग्रह- दाेस्राे संस्करण), कृष्णभक्त बाेडेकाे ” बाखँया दुवासा ” (लघुकथा सङ्ग्रह), प्रदिप रत्न शाक्यकाे “खाइककःचा” (हाइकु सङ्ग्रह) रहेका छन् ।
गुथिका नायाे (अध्यक्ष ) साहित्यकार महेन्द्र गाेपाल कर्माचार्यकाे सभाध्यक्षता एवं गुथिका सल्लाहकार वरिष्ठ कवि डा.याेगेन्द प्रधानकाे प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा उक्त ३ फरक कृतिहरूलाई ३ फरक अतिथिहरू क्रमश: प्रमुख अतिथि डा.याेगेन्द्र प्रधानले ” न्हयलं पाचिने मफुगु विश्वास” काे समीक्षा सहित विमाेचन, अतिथि समालाेचक पूर्णकाजी ताम्राकारले “बाखँया दुवासा” काे समीक्षा सहित बिमाेचन र अतिथि गुथिका सल्लाहकार नरेन्द्र भक्त हाडाले “खाइकक:चा” काे विमाेचन गर्नुभएकाे थियाे । त्यसैगरी गुथिका न्वकु ( उपाध्यक्ष) साहित्यकार कृष्ण भक्त बाेडेले स्वागत गर्नुहुँदै हाइकु सङ्ग्रह “खाईकक:चा” काे समेत समीक्षा गर्नुभएकाे थियाे ।
कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कवि डा. प्रधानले ” न्ह्योलं पाचिने मफुगु विश्वास” का लेखक त्रिरत्न शाक्यकाे कृतिभित्र देखिएकाे साहित्यिक, सामाजिक, धार्मिक र राजनैतिक पक्षकाे विश्लेषण गर्नुभएकाे थियाे ।


त्यसैगरी सभाध्यक्षकाे आसनबाट सबैलाई कृतज्ञता ज्ञापन सहित अध्यक्ष महेन्द्र गाेपाल कर्माचार्यले विराट गुथिबाट हालसम्म विभिन्न स्रष्टाका २१ वटा कृतिहरू प्रकाशित भईसकेकाे जानकारी गराउनुहुँदै नयाँ साहित्यकारहरूलाई साहित्यलेखन र कृति प्रकाशनकाे लागि प्राेत्साहन गरी भाषा उत्थान कार्यमा याेगदान पुर्याउनु नै गुथिकाे मूल उद्धेश्य रहेकाे बताउनुभयाे ।
कार्यक्रममा स्रष्टा प्रदिप रत्न शाक्यले आफ्नाे बिमाेचित कृति “खाइकक:चा” बाट फरक परिवेशका ८ वटा हाइकु वाचन गर्नुभएकाे थियाे । कार्यक्रमकाे अन्तमा स्रष्टा प्रदिप रत्न शाक्यले प्रमख, अतिथि, अतिथि तथा अन्य सहयाेगी व्यक्तित्वलाई मायाकाे चिनाे प्रदान गर्नुभएकाे थियाे ।
गुथिका सदस्य महेन्द्र राज शाक्यकाे सहजिकरणमा सञ्चालित कार्यक्रममा
काठमाण्डाै, ललितपुर र भक्तपुरका विविध साहित्यिक संस्थाका प्रतिनिधिहरू र स्रष्टाहरूकाे उत्साहजनक सहभागिता रहेकाे थियाे ।