२०७६ साल चैत ३० गते, आइतबार ।
भक्तपुर नगरपालिकाकाले लक डाउनको कारण दैनिक ज्यालादारी, मजदुरी गरेर जीविकोपार्जन गर्ने र असहायहरूको लागि आवश्यक खाद्यान्न राहत वितरणको लागि २६८८ परिवारको विवरण लगत संकलन गरिएकोमा १० वटै वडामा सम्बन्धित वडाको पायक पर्ने ठाउँबाट आज राहत वितरण शुरु ग¥यो ।
नगरपालिकाले असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरूलाई उपलब्ध गराइने राहत सम्बन्धी मापदण्ड, २०७६ पारित गरी २ जनाभन्दा बढी संख्या भएको परिवारलाई २० के.जी चामल, १ के.जी. दाल, १ पाकेट नुन, १ लिटर खाने तेल, १ वटा साबुन र ३ के.जी. चिउरा तथा २ जनासम्मको परिवारलाई १० के.जी चामल, १ के.जी. दाल, १ पाकेट नुन, १÷२ लिटर खाने तेल, १ वटा साबुन र ३ के.जी. चिउरा वितरण गरेको थियो ।


राहत वितरणको क्रममा भनपा–१,४,५,६ र ७ वडा कार्यालयहरुले घरदैलोमा गई राहत वितरण गरेको थियो भने २ नं. वडा कार्यालयले नगरपालिका परिसर, ३ नं. वडा कार्यालयले मेधा मा.वि., ८ नं. वडा कार्यालयले वडा कार्यालय परिसर तथा वडा नं. ९ ले दत्तात्रय आधारभूत विद्यालय र वागीश्वरी मा.वि., च्याम्हासिंह गरी २ स्थानमा र १० नं. वडा कार्यालयले ख्वप कलेज देकोचा र कमलविनायक भोजघरमा राहत वितरण गरेको थियो । कूल लाभग्राही २६८८ मध्ये २२५२ परिवारले राहत प्राप्त गरेकोमा वडा नं. १ मा ३७१, वडा नं. २ मा १९१, वडा नं. ३ मा ७५, वडा नं. ४ मा १८५, वडा नं. ५ मा १३७, वडा नं. ६ मा १२६, वडा नं. ७ मा १५८, वडा नं. ८ मा ३१५, वडा नं. ९ मा १६७ र वडा नं. १० मा ४२७ रहेको थियो ।
राहत वितरणको लागि नगरपालिकाले वडाध्यक्षको अध्यक्षतामा वडा समन्वय समिति गठन गरेको थियो । समन्वय समितिमा स्वास्थ्य स्वयंसेवक, स्थानीय युवाहरु र सामाजिक कार्यकताहरु सदस्य रहेका छन् । राहत वितरणमा स्वयं सेवकहरुले अनुशासन पालना गरी १ मिटर दुरीलाई विशेष ध्यान दिएका थिए ।
नगरपालिकाले राहत पाउनको लागि तोकिएको ढाँचामा फाराम भर्नुपर्ने व्यवस्था गरेको थियो । बैंक र सहकारीमा पैसा नभएको, परिवारमा मासिक तलब खाने कर्मचारी नभएको जस्ता विषयलाई ध्यानमा राखी दैनि ज्यालादारी गरी बस्ने लकडाउनको अवस्थामा काम नपाएर भोकै पर्ने परिवारलाई मात्रै वितरण गर्ने नीति अनुसार राहत वितरण गरिएको थियो ।














