भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।

भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
भक्तपुर, १२ भाद्र
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको तत्काल उद्धार, उपचार तथा दीर्घकालीन पुनःस्थापनाका लागि भक्तपुर सहयोग विकास संघले आम नागरिक तथा सरोकारवाला निकायहरूसँग सहयोगको हार्दिक आह्वान गरेको छ। संघका अध्यक्ष राजुमृगेन्द्र जोशीले एक विज्ञप्ति जारी गर्दै विपद्को यस कठिन घडीमा प्रभावित क्षेत्रका नागरिकहरूलाई राहत सामग्री उपलब्ध गराउन, शिविर व्यवस्थापन गर्न र घाइतेहरूको सहज उपचारका लागि आह्वान गरेको छ । साथै आवश्यक स्रोत संकलन कार्य तीव्रताका साथ अघि बढाउन पनि आग्रह गरेका छन्।
संघ तथा यस मातहतका निकायहरू पूर्ण रूपमा राहत र उद्धार कार्यमा सहयोग पुर्याउन जुतिरहेकोे उनले बताए। बाढीका कारण ज्यान गुमाएका व्यक्तिहरूको शव सम्मानजनक र सहज व्यवस्थापनका लागि संघका तर्फबाट ५० वटा शव राख्ने बाकस (ऋबकपभत) उपलब्ध गराउने तयारी भइसकेको अध्यक्ष जोशीले जानकारी दिए।
साथै, बाढीबाट जोगिन सफल पीडितहरूको दैनिक जीवनयापनलाई सहज बनाउन खाद्य तथा गैर–खाद्य राहत सामग्री वितरणको योजना बनाइएको छ।भक्तपुर निवासी तथा भक्तपुर जिल्ला जन्मथलो भई विभिन्न क्षेत्रमा कार्यरत समुदायको साझा सामाजिक संस्थाको रूपमा रहेको भक्तपुर सहयोग विकास संघले सदैव मानवीय विपत्तिमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ।
संघले सम्बन्धित सरकारी तथा गैरसरकारी सरोकारवाला निकायहरूसँग प्रत्यक्ष समन्वय गरी संकलित सहयोग रकम तथा राहत सामग्री पारदर्शी रूपमा वास्तविक पीडितसमक्ष पुर्याउने प्रतिबद्धता जनाएको छ। विपद्को यस घडीमा सक्दो सहयोग गर्न संघले आफ्ना सम्पूर्ण सदस्य, शुभचिन्तक एवं मनकारी महानुभावहरूमा मर्मस्पर्शी अपिल गरेको छ।