नीलबाराहीम आज पनि हजारौंले गरे श्रमदान
मध्यपुर, श्रावण ३ गते
काठमाण्डौ उपत्यकाको महत्वपूर्ण बाराहीको रुपमा परिचित भक्तपुरको निलबाराही अर्थात धनबाराही मन्दिर परिसरको पहिरो रोकथामकालागि आज पनि हजारौ भक्तजनले श्रमदान गरेका छन् । श्रमदानको १० हप्तासम्म आइपुग्दा २० हजार भन्दा बढीले श्रमदान गरिसकेको उल्लेख गर्दै निलबाराही संरक्षण सरोकार समितिका सचिव अनिश बाडेले मन्दिर परिसर संरक्षणकालागि आवश्यक चिजहरुको जानकारी गाउँदै जनस्तरबाट अहिले श्रमदान र आर्थिक, भौतिक सहयोगबाट पहिरो रोकथाम कार्य भइरहेको बताएका हुन ।


श्रमदान आह्वान गरेपछि एक करोड आर्थिक सहयोग प्रप्त भएको तथा २० हजार भन्दा बढीले श्रमदान गरिसकेको उल्लेख गर्दै मन्दिर परिसरको १३ भन्दा बढी स्थानको पहिरोको जोखिमयुक्र क्षेत्रमा श्रमदानद्वारा पहिरो रोकथाम कार्य भइरहेको उहाँले बताए । ५ सय रोप्नी क्षेत्रफलमा फैलिएको निलबाराही परिसरको सिमाकनको आवश्यकता महसुस गर्दै सो क्षेत्रको संरक्षण गर्न गुरु योजना अनुसार जनश्रमदानबाट मन्दिरसम्म जाने बाटो फराकिलो बनाउने कार्य भइरहेको उहाँले बताए । मन्दिर जाने बाटोमा अझै पनि जोखिम रहेकाले सो क्षेत्रकालागि पहिरो रोकथाम गर्न सयौ डण्डीहरु गाड्नुपर्ने भएको भन्दै आवश्यक सहयोगकालागि दाताहरुलाई आह्वान गरिरहेको बताएका छन् । नेपाल सरकार र स्थानीय तहले नीलबाराही जस्तो सभ्यता र जनविश्वास रहेको सम्पदा संरक्षण कार्यमा बेवास्था भएको भन्दै सचिव बाडेले यसै गरी जनश्रमदान र सहयोगबाटै केही वर्षभित्र मन्दिर परिसर हेर्नलायक, घुम्न लायक बनाउने योजना रहेको जनसञ्चार खवरलाई बताएका छन् ।
सरकारको ९ करोड बजेट ठेक्का लागेको भए पनि भरपर्दो योजना प्रस्तुत नभएको तथा प्रस्तुतीहरुमा पनि कमजोरी रहेको उल्लेख गर्दै उहाँले स्थानीय समुदायसँग अपनत्व हुने गरी सरकारी योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । सरकारले ठेक्का लगाएपनि दैनिक हजारौं श्रमदाता आएपनि ति निकायसँग कुनै सहकार्य र समन्वयसमेत नभएको भन्दै उहाँले यस्तो महत्वपूर्ण योजना बारे जनतालाई बताएर, सुझाव संकलन गरेर मात्रै कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।
भक्तपुर नगरका टोल टोलबाट श्रमदान गर्नेको माहोल बढेसँगै काठमाण्डौ उपत्यकाका विभिन्न क्षेत्रबाट श्रमदान गर्नेको संख्या ह्वाटै बढेको र श्रमदान गर्ने भक्तजनहरुलाई व्यवस्थापन गर्न एवं आवश्यक माटो ल्याउन समस्या रहेकाले हाल हप्ताको ३ दिन मात्रै तथा शनिबारका दिन विशेष श्रमदान कार्य भइरहेको उहाँले जनाए ।













